एजेन्सी – पछिल्लो एक दशक देखि बार्सिलोनाका लागि लियोनेल मेस्सी सबैथोक थिए। एकै सिजनमा ३०-४० गोलका साथ-साथै ठूलो संख्यामा गोल गर्न सक्ने मेस्सी बार्सिलोनाका लागि वरदान भन्दा कम थिएनन्। मेस्सीको उपस्थितमा नै बार्सिलोनाले पछिल्ला वर्षहरुमा सफलता हाँसिल गरेको थियो। क्रमिक रुपमा कम्जोर हुँदै गएपनि मेस्सीको उपस्थितले बार्सिलोनालाई एक प्रतिस्पर्धी क्लबको रुपमा उभ्याएको थियो।
तर अहिले मेस्सी छैनन्। मेस्सी पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगिसके। मेस्सी नहुँदा बार्सिलोनालाई हुन सम्म समस्या भएको छ। त्यति मात्र होइन क्लबमा धेरै खेलाडी घाइते हुँदा पनि बार्सिलोनालाई समस्या परेको छ।
सोमबार राति भएको खेलमा बार्सिलोनाले ग्रानडासँग बराबरी खेल्यो। ग्रानडा विरुद्धको खेलमा सानो दुखले बार्सिलोनाले हार टारेको थिएन। बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा ग्रानडाका डोमिङओस डुआर्टीले खेलको दोस्रो मिनेटमै गोल गरे पनि बार्सिलोनाले गोल फर्काउन धेरै नै संघर्ष गर्नुपर्यो।
बार्सिलोनाले बल पोसेसमा बलियो पकड राखेपनि ९०औं मिनेट अगाडि कुनै गोल गर्न सकेन। खेलको ९०औं मिनेटमा पाब्लो गाभिराको पासमा गोल गर्दै रोनाल्ड एराउजोले बार्सिलोनाको हार टारेका थिए। बार्सिलोनाको यस्तो हालतसँगै क्लबमा अर्जेन्टिनी स्टार फुटबलर लियोनेल मेस्सीको अभाव खड्किएको देखिएको छ।
जसले पनि हराउन सक्ने टीम भयो बार्सिलोना
बार्सिलोनाको पछिल्लो अवस्थालिई लिएर विभिन्न प्रकारका टिका-टिप्पणी हुन थालेका छन्। बार्सिलोनाको पछिल्लो अवस्थालाई स्पेनिस मिडियाहरुले धेरै नाजुक भनेका छन्। स्पेनिस मिडिया मार्काले त बार्सिलोनाले जित्न छाडेको मात्र नभई जसले पनि हराउने टीमको रुपमा परिणत भएको टिप्पणी गरेको छ।
“बार्सिलोनाले जित्न मात्र छाडेन, अहिले त जसले पनि जित्न सक्ने भयो”,मार्काले टिप्पणी गरेको छ। साथै मार्काले बार्सिलोनाले रियल म्याड्रिड र एथ्लेटिको म्याड्रिडलाई चुनौती दिन नसक्ने पनि दावी गरेको छ। मार्काका अनुसार बार्सिलोना सिजनको शुरुवातमै उपाधि होडबाट बाहिरिसकेको छ। लालिगाको उपाधि होडमा यस सिजन रियल म्याड्रिड एथ्लेटिकोका साथै सेभिया समेत हुन सक्ने अनुमान मार्काको छ। तर हालको अवस्थालाई हेर्दा बार्सिलोना उपाधि होडमा नहुने दावी मार्काले गरेको छ।