एजेन्सी – फ्रान्सको शीर्ष डिभिजन लिग वान युरोपको शिर्ष लिगमा पर्ने भएपनि प्रिमियर लिग, लालिगा, सिरी ‘ए’, बुन्डेसलिगा भन्दा पछि छ। तर, आउने वर्षहरुमा फ्रेन्च लिग वानले थप सुधार गर्दै अगाडी बढ्ने छनक देखाएको छ। गएको केहि सिजन देखि फ्रेन्च लिग वानका धेरै जस्तो क्लबहरुले आफ्नो क्लबमा धेरै सुधारहरु गरेका छन्। जसकारण फ्रेन्च लिग वान पहिला भन्दा बढी रोमान्चक हुँदैछ।
सन् २०२१-२२ सिजनका ६ खेलहरु भैसक्दा पेरिस सेन्ट जर्मेन (पिएसजी) लिगको शिर्ष स्थानमा छ। अपराजित पिएसजीले ६ खेलमा जित निकाल्दै १८ अंक जोडेको छ। लिगको दोस्रो स्थानमा मार्सेले छ। पिएसजी भन्दा एक खेल कम खेलेको मार्सेलेले ४ जित र १ बराबरी खेल्दै १३ अंक जोडेको छ। तस्रो स्थानमा रहेको लेन्सको ६ खेलबाट १२ अंक छ।
नयाँ सिजन शुरुभएपछि धेरै खेलाडीहरुले फ्रेन्च लिग वानमा उच्च स्तरको प्रदर्शन गरिरहेका छन्। नयाँ सिजनमा उच्च प्रदर्शन गरिरहेका फ्रेन्च लिग वानका पाँच खेलाडी निम्न छन्।
मोसा डेम्बेले
गत सिजन खासै राम्रो प्रदर्शन गर्न नसकेका मोसा डेम्बेले नयाँ सिजनमा उच्च लयमा देखिएका छन्। लियोनका लागि उनले ५ खेल खेल्दै ४ गोल गरेका छन्। लियोनका लागि निर्णायक बनिरहेका मोसा डेम्बेले पासमा पनि उच्च कुशलता देखाइरहेका छन्। मोसाको यसै प्रकारको प्रदर्शन गर्न सके अहिले लिगको ९ औं स्थानमा रहेको लियोन केहि अगाडी आउने निश्चित छ।
इड्रिस्सा गुइए
स्टार खेलाडीहरुले भरिएको पिएसजीमा मौका पाउन सजिलो छैन। न त एक रक्षात्मक मिडफिल्डर चर्चामा आउन सहज छ। तर एक रक्षात्मक मिडफिल्डर लगातार तरंग पैदा गरिरहेका छन्। इड्रिस्सा पिएसजीका कारण सबै भन्दा महत्वपूर्ण खेलाडीको रुपमा देखा परिरहेका छन्। डिफेन्समा मात्र नभई आक्रमणमा पनि उनको भूमिका रहने गरेको छ। पिएसजीका लागि यस सिजन खेलेका चारै खेलमा उनको प्रदर्शन तारिफ गर्न लायक छ। साथै उनले अहिले सम्म दुई गोल पनि गरिसकेका छन्।
एमिने गौरी
लिग वानमा यस सिजन गोल्डेन बुट जित्न सक्षम धेरै खेलाडी छन्। त्यसमध्येमा पर्छन् निसका एमिने गौरी पनि। चर्चामा आएको नाम नभएपनि एमिने गौरी बिस्तारै चर्चित बन्ने अहिले नै देख्न सकिन्छ। सिजनको शुरुवातमा उनले जुन प्रकारको प्रदर्शन गरिरहेका छन्, त्यसले निसका समर्थकलाई धेरै नै उत्साहित बनाएको छ। ५ खेलमा उनले ४ गोल गर्दै २ असिस्ट दिसकेका छन्।
डिमित्री पाएट
पूर्व वेस्ट ह्याम युनाइटेड मिडफिल्डर डिमित्री सन् २०१७ देखि नै मार्सेलेका लागि महत्वपूर्ण योगदान दिरहेका छन्। डिमित्री मार्सेलेको मात्र नभई फ्रेन्च लिगकै उत्कृष्ट खेलाडी हुन्। उत्कृष्ट पास निकाल्न खप्पिस डिमित्रीले नयाँ सिजन शुरु भएपछि फरवार्ड र आक्रामक मिडफिल्डरको रुपमा खेलेका छन्। दुवै भूमिकामा उनी उत्कृष्ट देखिएका छन्। शुरुका तीन खेलमा सेन्टर फरवार्डको रूपमा खेलेका उनले ३ गोल गर्दै १ असिस्ट दिएका थिए। चौंथो खेल गुमाएपनि पाँचौ खेलमा खेल्दा उनले मार्सेलेलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।
किलियन एम्बाप्पे
नयाँ सिजन शुरु भएपछि फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे झनै उच्च लयमा देखिएका छन्। गत सिजन केहि लय गुमाउन पुगेका एम्बाप्पे उच्च स्तरको खेल प्रदर्शन गरिरहेका छन्। एम्बाप्पे पिएसजीको जितहरुमा निर्णायक बनिरहेका छन्। अहिले सम्म उनले ४ गोल गर्दै ३ असिस्ट दिएका छन्।