वर्तमान म्यानचेस्टर सिटी प्रशिक्षक पेप ग्वार्डिओलाको क्लबमा दुई वर्ष सम्झौता बाँकी रहँदा स्पेनिसको बार्सिलोनामा नाटकीय फिर्तीको सम्भावना देखिएको छ। १३ वर्ष अगाडी बार्सिलोनाबाट नै पेपले आफ्नो प्रशिक्षण करियर सुरु गरेका थिए।
पूर्व क्लब कप्तान लियोनल मेस्सी फ्रेन्च क्लब पीएसजी प्रस्थान गरेपछि क्याटालानका दिग्गजहरु क्लब पुनर्निर्माणको कोशिश गरीरहेछन्। यस्तोमा, क्लब अध्यक्ष जोआन लापोर्टा कथित रूपमा दिग्गज प्रशिक्षकलाई बार्सिलोना फिर्ता ल्याउनको लागि आफूले सक्ने सबै गर्नको लागि इच्छुक छन्। एल नेसिओनलका अनुसार लापोर्टाले बार्सिलोनालाई पुन: विश्व फुटबलको शिखरमा पुर्याउनका लागि गार्डियोलालाई नै उत्तम व्यक्तिको रुपमा लिएका छन्।
क्याटालान क्लबले २०१४/१५ पछि च्याम्पियन्स लिग जित्न सफल भएको छैन, जुन सिजन मेस्सी, लुइस स्वारेज र नेयमारको ट्रियोले तहल्का मच्चाउँदै ऐतिहासिक ट्रेबल जिताउन सफल भएको थियो। जसपछि तीनै सुपरस्टार खेलाडी क्लबबाट अन्य क्लब प्रस्थान गरिसकेका छन्। जसपछि क्लबलाई नयाँ हिरोको आवश्यक रहेको छ। तर क्लबलाई सफल बनाउनका लागि एक उत्कृष्ट प्रशिक्षकको पनि आवश्यक हुन्छ: जहाँ ग्वार्डिओलाको नाम निस्किन्छ।
इंग्ल्याण्डमा सिटीका साथ हरेक घरेलु उपाधि जितिसकेका ग्वार्डिओलाले यस सिजन च्याम्पियन्स लिग जित्न सफल भए भने बार्सिलोना फर्किने सम्भावना बढ्ने बताइएको छ। बार्सिलोनामा पहिलो कार्यकालमा ग्वार्डिओलाले बार्सिलोनालाई फुटबल इतिहास कै सर्वश्रेष्ठ टोलीमा परिणत गरेका थिए। उनले आफ्नो ४ वर्षीय कार्यकालमा ३ लालिगा, दुई च्याम्पियन्स लिग सहित १४ उपाधि जित्न सफल भएका थिए।