पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) पोलिटब्युरो सदस्य रामबहादुर थापाले अमेरिकी मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसिसी) परिमार्जन गरेर पारित गर्नुपर्ने बताएका छन् ।
प्रेस चौतारीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहसमा आएका विषय परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिए । नेता थापाले लोकतन्त्रमा कसैलाई बोल्ने अधिकार रोक्न नहुने स्पष्ट पार्दै लिम्पियाधुरा, कालापानी, एमसिसीका विषयमा धारणा राख्न पाउनुपर्ने बताए।
“स्रोत नखुलाई लगानी गर्न पाउने व्यवस्था गर्नु गलत हो”, उनले भने । राष्ट्रिय अर्थतन्त्र र पूँजीको संरक्षण गर्नुपर्ने उल्लेख गर्दै उहाँले सरकार त्यतातर्फ जान नसकेको आरोप लगाए ।
कांग्रेसको पालिका अधिवेशन शनिबारदेखि
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गाउँ÷नगर अधिवेशन पूर्वनिर्धारित मिति (यही असोज ९ गते) देखि प्रारम्भ गर्ने निर्णय गरिएको छ ।
कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा शनिबारदेखि गाउँ÷नगर अधिवेशन प्रारम्भ गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
ती जिल्लामा दशैँ अघिसम्म पालिका अधिवेशन मात्र सम्पन्न हुनेछन् । हिमाली जिल्लामा भने पूर्वनिर्धारित कार्यतालिका अनुसार जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको उनले बताए । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा वडा अधिवेशन हुन बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता विवाद शीघ्र टुङ्ग्याएर वडा अधिवेशन प्रारम्भ गर्ने सहमति भएको छ ।
कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको हो । कांग्रेसले यसअघि ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यतामा देखिएको केही विवादका कारण विवरण अझै सार्वजनिक हुन सकेको छैन ।
कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत गाउँ÷नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको थियो । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।