एजेन्सी – निरन्तरको कम्जोर प्रदर्शनका बीच बार्सिलोनाले बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजलाई सम्पर्क गरेको खुलासा भएको छ। विभिन्न संचार माध्यमहरुका अनुसार बार्सिलोनाले मार्टिनेजलाई बार्सिलोनाको प्रशिक्षक बन्न इच्छुक भए-नभएको बुझ्न सम्पर्क गरेको हो।
बार्सिलोनाले मार्टिनेजको धारणा बुझ्नको लागि सम्पर्क गरेको खेल मिडियाहरु दावी गर्छन्। मार्टिनेजलाई बार्सिलोनाले सम्पर्क गरेको भएपनि अधिकारिक वार्ता शुरु भइनसकेको उनीहरुको दावी छ।
खेल मिडिया ‘गोल’का अनुसार बार्सिलोनाले वर्तमान प्रशिक्षक रोनाल्ड कोम्यानबाट छुटकारा पाउने निर्णयमा पुगिसकेको छ। बार्सिलोनाको अलमल कोम्यानलाई कहिले र कसरी बर्खास्त गर्ने भन्नेमा मात्रै रहेको बताइन्छ।
कोम्यानलाई प्रतिस्थापन गर्ने सबै भन्दा राम्रो विकल्प मार्टिनेज हुने बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाको समेत धारणा रहेको छ। लापोर्टा मार्टिनेजका ठूला प्रशंसक हुन्।
के छ अवस्था ?
बार्सिलोनाका अधिकारीहरुले समपर्क गरेर मार्टिनेजलाई आफूहरुको मूख्य प्राथमिकता उनी नै रहेको जानकारी दिसकेका छन्। कोम्यानलाई हटाएर उनलाई ल्याउन चाहेको कुरा बार्सिलोनाका अधिकारीहरुले स्पष्टसंग राखिसकेका छन्।
पूर्व विगन र एभर्टनको प्रशिक्षक समेत रहिसकेका मार्टिनेजले बेल्गियम फुटबल एसोसियसनलाई बार्सिलोनाले प्रस्ताव गरेको खण्डमा प्रशिक्षकको जिम्मेवारीबाट हट्ने भने जानकारी गराएको चर्चा पनि छ। सन् २०२२ विश्वकप पछि सम्मका लागि सम्झौता गरेका मार्टिनेजको फुटबल एसोसियसनका अध्यक्षसंग राम्रो सम्बन्ध छ। जसकारण उनी सहमतिमा बेल्जियमबाट अलग हुन सक्छन्।
तर, तत्काल उनी बेलियमको राष्ट्रिय टोलिबाट अलग हुने सम्भावना भने छैन। उनी कम्तिमा नेशन्स लीग सम्म बेल्जियममै रहने र त्यसपछि बार्सिलोना आउन सक्ने सम्भावना देखिन्छ। नेशन्स लीगको सेमिफाइनलमा बेल्जियमले फ्रान्सको सामना गर्दैछ। यदि उक्त खेल जित्न सकेको खण्डमा बेल्जियम फाइनलमा प्रवेश गर्नेछ। नेशन्स लीगको फाइनल अक्टोबर ११ मा रहेको छ।
सबै कुरा मिलेको खण्डमा अक्टोबर ११ लगतैका दिनहरुमा कोम्यान बर्खास्त हुनेछन् र बार्सिलोनाको नयाँ प्रशिक्षकमा मार्टिनेज नियुक्त हुनेछन्। यदि त्यस्तो हुन नसकेको खण्डमा भने बार्सिलोनाले अरुलाई नै प्रशिक्षकको रुपमा भित्र्याउनुपर्नेछ।

