ब्रुनो फर्नान्डेजले शनिबार साँझ एस्टन भिल्ला विरुद्ध म्यानचेस्टर युनाइटेडको लागि एक महत्वपूर्ण पेनाल्टीमा चुक्दा युनाइटेडले यस सिजन पहिलो लिग हार बेहोर्न बाध्य भयो।
पूर्व टोटनह्याम खेलाडी टिम शेरवुडले फर्नान्डेज रोनाल्डोको कारण उक्त पेनाल्टीमा चुकेका दाबी गरेका छन्। आइतबार साँझ एस्टन भिल्ला विरुद्धको खेलमा ९२ औं मिनेटमा आफ्नो टोली १-० ले पछि परेको स्थितिमा पाएको पेनाल्टी रोनाल्डोले लिन्छन् भन्ने सबै समर्थकले आशा गरेका थिए। तर ब्रुनोले उक्त पेनाल्टी प्रहार गर्ने निर्णय गरे। जुन अवसरमा पोर्चुगिज मिडफिल्डर चुक्दा युनाइटेड पराजित हुन पुग्यो।
यस्तोमा पूर्व नर्विच स्टारका अनुसार ब्रुनोले मैदानमा रोनाल्डोको उपस्थितिका कारण दबाबमा आएको बताएका छन्। अवे टोलीका लागि केहि समय आगाडी मात्र अग्रता दिलाएपछि एस्टन भिल्लाका कोर्टनी होउजले आरोन वान-बिसाका क्रसमा ह्याण्ड गरेपछि रेफ्रीले रेड डेभिललाई पेनाल्टीको अवसर दिएका थिए। पेनाल्टी प्रहार गर्दा निकै उत्कृष्ट रेकर्ड रहेका ब्रुनोले पेनाल्टीबाट गोल गर्न चुके।
खेलपछि बोल्दै शेरवुडले रोनाल्डोको उपस्थितिमा ब्रुनोले अनावश्यक दबाब लिएको हुनसक्ने शंका गरे। स्काई स्पोर्ट्समा बोल्दै उनले भने,”ब्रुनोले यसरी कहिल्यै मिस गर्न सक्दैनन्। उनले प्राय: यसरी पोस्ट भन्दा माथि बल प्रहार गर्दैनन्। उनले प्राय: गोलकिपरको हलचल हेर्छन् र पोस्टको कुनातिर प्रहार गर्छन्। यो दबाबका कारण हो। रोनाल्डोको उपस्थितिले त्यो दबाब परेको हुनपर्छ।”