रोकिएन एसएसबीको ज्यादती : अझै लुकुछिपी तुईन तर्ने वाध्यता

कैलाली । गत साउन १५ गते तुइन तर्ने बेलामा दार्चुलाको व्यास गाउँपालिका–२ राप्लाका ३३ वर्षीय जयसिंह धामी महाकालीमा बेपत्ता भए । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुईन खुस्काईदिँदा उनी बेपत्ता भएका थिए । यो घटनाले देशभर चर्चा पायो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

घटनाबारे छानविन गर्न सरकारले बनाएको समितिले स्थलगत अध्ययन गरी भारतीय सुरक्षाकर्मीले तुईन खुस्काईदिँदा जयसिंह बेपत्ता भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसपछि सरकारले भारतसँग कुनै पनि पहल लिन सकेको छैन । धामी बेपत्ता भएको दुई महिना पुग्न लाग्दासमेत अहिलेसम्म केहि पत्ता लाग्न सकेको छैन । धामीका परिवारले कुशको शव बनाएर दाहसंस्कार गरी सकेका छन् ।

एसएसबीले गालीगलौज तथा धम्काउने भए पनि पुनः राप्लाबासीहरु लुकिछिपी नदी पार गर्ने गरेका छन् । ‘साउन १५ पछिको घटनाले गर्दा राप्लाबासी त्रसित छन्’, व्यास गाउँपालिका–२ का वडाअध्यक्ष धिरेन्द्र बुढाथोकीले भने, ‘सुरक्षाकर्मी नभएको समयमा लुकिछिपी वारपार गर्ने गरेका छन् ।’ नदी तर्ने अर्को माध्यम नभएका कारण स्थानीयहरु बाध्य भएर तुइन तर्नुपर्ने अवस्था छ । अझै पनि एसएसबीले नेपालीलाई धम्क्याउने गरेको उनले बताए ।

‘नेपालबाट सदरमुकाम आउन जान एकदम गाह्रो छ’, उनले भने, ‘त्यसले गर्दा लुकीछिपी वारपार गर्ने गरेका छन् ।’ सरकारले तुइनमुक्त कार्यक्रम अन्तर्गत तुइन भएको ठाउँमा पुल बनाउन योजना सञ्चालन गरेको भए पनि महाकालीमा झोलुङगे पुल निर्माण अलपत्र छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले मालाघाटमा पुल निर्माण अगाडि बढ्ने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले पुसभित्र काम सक्ने गरी निर्माण कार्य थालनी हुने बताए । व्यासका नागरिकहरू खाद्यान्न, औषधि लिएर यही तुइनमार्फत् आवत–जावत गर्छन् । बेला–बेला एसएसबीले तुइन काटिदिने गरेको भए पनि स्थानीयले पुनः जोड्ने गरेका छन् । व्यास गाउँपालिका–२ का स्थानीयहरू सदरमुकाम खलंगा पुग्न भारतीय बाटो प्रयोग गर्छन् ।

‘हामी निकै पीडित छौँ । आफ्नै जिल्ला सदरमुकाम भारतीय बाटो भएर जानुपर्छ’, राप्लाका जनकसिंह धामीले भने, ‘वर्षा र हिउँदमा हामीले तुइन चढेर पारी रहेको भारतको उत्तराखण्डको धार्चुला जानुपर्छ । त्यसपछि पुनः गाडी चढेर सदरमुकाम खलंगा जानुपर्ने हुन्छ ।’ व्यास गाउँपालिका–१ र २ दुर्गम वडाहरू हुन् । तुइन रोकिँदा मालगाउँ लगायत व्यास गाउँपालिकामै खाद्यान्न संकट परेको स्थानीय हर्कसिंह कार्कीले जानकारी दिए । उनले हेलिकोप्टरबाट ढुँवानी भए पनि केही राहत भएको बताए ।

व्यास गाउँपालिका–२ राप्लामा ३ सय बढी परिवारको बसोबास छ । मालागाउँमा मात्रै ७० बढी परिवार बसोबास गर्छन् । व्यासको राप्ला, दुम्लिङलगायतका क्षेत्र भौगोलिक हिसाबले एकदमै विकट छन् । सदरमुकामबाट मालागाउँ ५५ किलोमिटर टाढा छ । वर्षाका कारण खलंगाबाट सुन्सेरा जोड्ने सडक अवरुद्ध भई ढुवानी अझै ठप्प छ । प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार वर्षामा दुई ट्रिप हेलिकोप्टरबाट चामल ढुँवानी भएको छ । ‘मालागाउँमा दुई ट्रिप हेलिकप्टरबाट चामल ढुँवानी भएको छ’, उनले भने, ‘फेरि पनि हप्ता दिनभित्र ढुवानीको तयारी छ ।’

प्रकाशित : सोमबार, असोज ११, २०७८०७:४९

भिसा लागेका विद्यार्थी दुई वर्षदेखि नेपालमै अड्किए !