फ्रेन्च क्लबका लागि पहिलो गोलको खोजीमा रहेका पूर्व बार्सिलोना स्टार मेस्सीको म्यानचेस्टर सिटी विरुद्ध पहिलाको रेकर्ड निकै उत्कृष्ट रहेको छ। प्रिमियर लिग च्याम्पियन विरुद्ध मेस्सीको तथ्यांक हेर्दा इंगलिस क्लब अर्जेन्टिनी कप्तानसँग निकै डराउनु पर्ने देखिन्छ।
२१ वर्षपछि आफ्नो बाल्यकाल क्लब बार्सिलोनामा ७७८ खेलमा ६७२ गोल गरेपछि यसै सिजन मात्र पेरिस प्रस्थान गरेका हुन्। ६ पटकका ब्यालुन डी ओर विजेताले पीएसजीमा नेयमार र एम्बाप्पेसँग मिलेर विश्व फुटबलकै घातक आक्रमण पङ्क्तिको निर्माण गर्ने आशा गरिएको थियो। तर यो ट्रियोले अहिलेसम्म एकसाथ राम्रो प्रदर्शन गर्न सकेको छैन। तर यो समयको मात्र कुरा हो।
यो ट्रियोको तालमेल नदेखिएको समयमा सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाका लागि मेस्सी एक्लै नै टाउको दुखाई बन्न सक्छन्। विशेषगरी विगतमा आफ्नो टोलीको विरुद्ध अर्जेन्टिनी कप्तानले गरेको प्रदर्शनका कारण पेपको टाउको दुखाई सहि पनि हो। ३४ वर्षीय स्ट्राइकरले यसअघि ६ पटक सिटीको सामना गरेका छन्। जसमा उनले ६ गोल गर्नुका साथै २ असिस्ट पनि प्रदान गरेका छन्।
मंगलबार हुने खेलमा उनी सिटी विरुद्ध आफ्नो उक्त तथ्यांक सुधार गर्ने दाउमा हुनेछन्। पीएसजी र म्यान सिटी बीचको खेल मंगलबार राति नेपाली समय अनुसार १२:४५ बाट पीएसजीको घरेलु मैदान पार्क डे प्रिन्सेसमा सुरु हुनेछ।