पेरिस सेन्ट जर्मेन (पीएसजी) का पूर्व मिडफिल्डर एडुआर्ड सिस्सेले नेयमारमाथि कडा आक्रमण गरेका छन्। सिस्सेले ब्राजिलियन स्टार नेयमारलाई ‘बिग्रेका बच्चा’ भन्दै आलोचना गरेका हुन्।
सन् १९९७ देखि २००७ सम्म १० वर्ष पीएसजीका लागि खेलेका सिस्सेले बार्सिलोनाको नेयमार फ्रेन्च क्लबको नेयमार भन्दा निकै उत्कृष्ट रहेको बताएका छन्।
“बार्सिलोनामा एक संरचना थियो,” सिस्सेले ले पेरिसियनलाई भने,”नेयमारको खेल शैली निकै राम्रो थियो, यद्यपि उसले अधिक ड्रिबल गर्थे। उनको काम रक्षात्मक लाइन तोड्नु थियो, फरक पार्नु र मेस्सीलाई पास गर्नु थियो। उनले त्यो काम यति राम्रो गरे कि उनमा अहंकार आयो।”
२९ वर्षीय स्टारले २०१७ मा बार्सिलोनाबाट पीएसजी आएपछि भने पेरिसमा बिल्कुलै फरक परिस्थितिको सामना गर्नु परेको सिस्सेले बताए। “पेरिसमा पीएसजीले नेयमारलाई आफूले जे गर्न मन लाग्यो त्यो गर्ने अनुमति दिए,” उनले थपे,”उनी एक महान खेलाडी हुन्, कसैले यसमा विवाद गर्न सक्दैनन्, तर उनी एक बिग्रेको बच्चा जस्तै बनेका छन् र उनी आफ्ना वरिपरिका मानिसको बोस बन्न खोज्छन्।”