२०२१-२२ सिजनमा फ्रेन्च क्लब पीएसजीले सत प्रतिशत सुरुवात गरेको थियो। लिग १ को आठ खेलमा ८ जीतका साथै २४ अंकका साथ निकै उत्कृष्ट सुरुवात गरेको पीएसजी आइतबारको खेलमा भने रेनेससँग २-० ले पराजित हुन पुग्यो।
सुपरस्टार खेलाडीले भरिएको पीएसजीले आइतबारको खेलमा अंक गुमाउन बाध्य भयो। लियोनल मेस्सी र केलियन एमबाप्पेले पहिलो हाफमा केहि सुनौलो मौका पाएका थिए। मेस्सीले पहिलो हाफमा एम्बाप्पेको लागि उत्कृष्ट अवसरको सिर्जना गरेका थिए जसको सदुपयोग फ्रेन्च स्टारले गर्न सकेनन्। पहिलो हाफमा पछि परेको पीएसजीका स्टार मेस्सीको फ्री-किक पोस्टमा ठोक्कीएर फर्किएको थियो।
सुनौला अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो हाफमा पछि पर्दा निराश भएको पीएसजी दोस्रो हाफमा पनि सन्तोषजनक प्रदर्शन गर्न सकेन। दोस्रो हाफमा पनि फ्रेन्च क्लबले अर्को गोल खाना पुग्यो। खेलको ६७ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीमा खेलमा फर्काउने प्रयास गरे तर उक्त गोल अफ-साइडका कारण मान्य भएन।
आइतबारको हारले आकाशमा उडिरहेको पीएसजीलाई धर्तीमा पछारेको छ। उक्त हार यस सिजन लिग र च्याम्पियन्स लिगमा पीएसजीको पहिलो हार हो। यसअघिका आठै लिग खेल जितेको पीएसजीले च्याम्पियन्स लिगका २ खेल मध्ये एक जीत र एक बराबरी खेलेको थियो।