एजेन्सी – सिजनका शुरुवाती खेलहरुमा राम्रो प्रदर्शन गर्न सफल रियल म्याड्रिड गएको तीन खेलमा जितविहिन छ। गएको तीन खेलमा रियलले जित निकाल्न सकेको छैन। लालिगामा पछिल्लो पटक मालोर्कालाई पराजित गरेपछि रियलले तीन खेल मध्ये २ खेलमा हार बेहोरेको छ भने एक खेल बराबरी खेलेको छ।
मालोर्का विरुद्ध जित निकालेयता रियल च्याम्पियन्स लिग अन्तर्गत शेरिफ र ला लिगाको खेलमा एस्पान्योलसंग पराजित भएको छ। त्यस्तै रियलले भिल्लारियलसंग भने बराबरी खेलेको थियो। पछिल्ला तीन खेलमा रियलले मात्र दुई गोल गर्न सफल भएको छ भने रियलले तीन खेलमा ४ गोल बेहोरिसकेको छ। सिजनको शुरुवाती चरणमा रियल म्याड्रिडले जुन प्रकारको खेल प्रदर्शन गरिरहेको थियो, त्यस्तो खेल प्रदर्शन गर्न पछिल्लो समय सकिरहेको छैन।
यहि सिजन प्रशिक्षकको रुपमा आएका कार्लो एन्सेलोटी रियललाई एक प्रकारको लय दिलाएका कारण चर्चाको विषय बनेका थिए। तर रियलको पछिल्लो अवस्था पछि उनी पनि दबाव परेका छन्।
टोलीमा रहेका युवा तथा अनुभवी खेलाडी बीच तालमेल मिलाउने ठूलो चुनौती उनको सामू छ। सिजनको शुरुवातमा त उनले युवा र अनुभवी खेलाडी बीच राम्रो तालमेल मिलाउन सफल भएका थिए। तर आउने समयमा उनले टीममा कसरी सन्तुलन कायम गर्छन् भन्ने थाहा पाउन केहि खेलहरुलाई नियाल्नुपर्नेछ।
हालको अवस्थामा रियललाई यदि कसैले बचाउन सक्छन् भने ती करिम बेन्जेमा र भिनिसियास जुनियर हुन्। सिजनको शुरुवातमा दुवै खेलाडीले गोलको वर्षा गर्दै रियललाई राम्रो लय दिलाएका थिए।
रियलले लय गुमाउन पुगेसँगै स्पेनमा यस्तो तरिकाले रियलले यस सिजन पनि उपाधि जित्न नसक्ने चर्चा हुन थालेको छ। आइतबार एस्पान्योलसँग २-१ को पराजय भोगेपछि स्पेनिस पत्रिकाहरुले रियल यस सिजन पनि उपाधि विहिन हुन सक्ने विश्लेषण गर्न शुरु गरिसकेका छन्।