मस्को । पेन्डोरा पेपर्स लिक मामिलामा थुप्रै देशका नेता, अधिकारी तथा चर्चित हस्तीको नाम सार्वजनिक भएको छ । यसमा उनीहरुको आर्थिक चलखेलको उजागर गरिएको दाबी गरिएको छ । यी पेपर्समा रुसका राष्ट्रपति भ्लादिमीर पुटिनको नाम पनि आएको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
पुटिनका सहयोगीले भारी मात्रामा धन आर्जित गरेको र आर्थिक लेनदेन गर्नका लागि ट्याक्स हेभन्समा खाताको प्रयोग गरेको आरोप छ । पेन्डोरा पेपर्सले पुटिनका सहयोगीले गोप्य रुपमा सम्पत्ति आर्जन गर्न जुटेको आरोप लगाएको छ ।
उनकी कथित प्रेमिकाको स्वामित्व भएको एउटा कम्पनीले ३.१ मिलियन पाउन्ड (लगभग ५० करोड रुपैयाँ) को अपार्टमेन्ट खरिद गरेकी थिइन् । सन् २००३ मा एक २८ वर्षकी स्भेतलाना क्रिभोनोगिख यसको वास्तविक मालिक थिइन् ।
पेन्डोरा पेपर्समा पुटिनको मोनाकोस्थित गोप्य सम्पत्तिबारे पनि कुरा गरिएको छ । उनको विदेशमा भएकोम एउटा कम्पनीबारे पनि खुलासा गरिएको छ र यसको स्वामित्व उनकी प्रेमिकासँग भएको आरोप छ ।
उक्त पेपरमा बताइए अनुसार पुटिनसँग दोस्ती पछि ती महिला (कथित प्रेमिका) ले सेन्ट पिटर्सबर्गमा एउटा फ्ल्याट, मस्कोमा थुप्रै सम्पत्ति र एउटा क्रुज खरिद गरेकी छिन् । यसको कूल मूल्य १०० मिलियन डलरभन्दा बढी छ । पुटिनको सम्पर्कमा आएपछि ती महिलाको जीवन फेरिएको बताइएको छ । यद्यपि, यसबारे आधिकारिक रुपमा कसैको पनि केही बयान सार्वजनिक भएको छैन ।
स्मरण रहोस्, यसअघि पनामा पेपस लिकले संसारभरी तहल्का मच्चाएको थियो । पनामा पेपरमा ठूल्ठूला हस्तीको ‘ट्याक्स चोरी’ को वास्तविकता सार्वजनिक भएको थियो । अब पेन्डोरा पेपसले संसारभरीका शक्तिशाली र धनाढ्यले आर्थिक अनियमिततामार्फत् कसरी भारी मात्रामा सम्पत्ति आजर्न गर्न सफल भएका छन् भनेर खुलासा गरेको छ ।