एजेन्सी – लिभरपुलका फरवार्ड मोहम्मद सलाह र म्यानचेस्टर युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई सायदै परिचयको आवश्यकता पर्ला। दुवै विश्वभर चर्चित छन्। सलाह गएको तीन वर्ष देखि लिभरपुलमा छन् भने रोनाल्डो यसै सिजन म्यानचेस्टर युनाइटेड पुगेका हुन्।
विश्वका उत्कृष्ट स्ट्राइकरका रुपमा रहेका दुवै पछि एक हिसाबले प्रतिष्पर्धा शुरु भैसकेको छ। प्रतिष्पर्धा यो अर्थमा कि, सलाह र रोनाल्डो प्रिमियर लिगका सबै भन्दा ठूला प्रतिद्वन्दी क्लबमा छन्। दुई बीच गोल संख्यामा पनि प्रतिष्पर्धा हुने देखिन्छ।
युनाइटेड आएको पहिलो महिनामै रोनाल्डोले प्रिमियर लिगमा तीन गोल गरे। पहिलो महिनामै उत्कृष्ट लयमा देखिएका रोनाल्डो ‘प्रिमियर लिग बेस्ट प्लेयर अफ द मन्थ’ समेत घोषित भए।
तर उनलाई महिनाको उत्कृष्ट खेलाडी घोषणा गरिएकोप्रति विभिन्न टिका टिप्पणी भइरहेको छ। सेप्टेम्बर महिनामा रोनाल्डो भन्दा राम्रो खेलेका सलाहलाई प्रिमियर लिग बेस्ट प्लेयर अफ द मन्थ’ अवार्ड नदिएर अन्याय गरिएको लिभरपुल र सलाहका प्रशंसकहरुको आरोप छ।
सलाहले पनि सेप्टेम्बर महिनामा ३ गोल गरे। उनले पनि रोनाल्डोले जस्तै तीन खेलमा तीन गोल गरे। फरक यति हो कि रोनाल्डोले कुनै पनि खेलमा असिस्ट दिन नसकेपनि सलाहको नाममा १ असिस्ट छ।
त्यति मात्र होइन, सलाहले म्यानचेस्टर सिटी विरुद्ध गरेको गोल पनि चर्चामा रह्यो। डिफेन्समा रहेका ८ खेलाडी मध्ये ६ खेलाडीलाई बिट गर्दै सलाहले गोल गरेका थिए। सलाहले गरेको गोललाई धेरैले विश्वस्तरीय भनिरहेका छन्। उक्त गोलका कारण पनि रोनाल्डो भन्दा पनि सलाह सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी घोषित हुनुपर्ने धेरैको तर्क रहने गरेको छ।

