एजेन्सी – बेल्जियममाथि सहज जित दर्ता गर्दै युरोपेली च्याम्पियन इटालीले युइएफए नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको छ ।इटालीले घरेलु मैदानमा बेल्जियमलाई २–१ पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।
इटालीको जितमा निकोलो बरेल्ला र डोमिनिको बेरारडीले गोल गरे । बेल्जियमका चार्लेस डि केटलारेले एक गोल फर्काए । एलिएन्ज एरिना टोरिनोमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा तीन गोल निस्किएको थियो ।
१८औं मिनेटमा डोमिनिको बेरारडीले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई बेल्जियमका गोलरक्षक थिवाउट कोर्टुवाले बचाए । २५औं मिनेटमा एलेक्सिस सेलेमेकर्सको प्रहार क्रसबारमा लाग्दै बाहिरिदा बेल्जियम अग्रता लिनबाट चुक्यो ।
४७औं मिनेटमा निको बरेल्लाले गोल गर्दै इटालीलाई १–० को अग्रता दिलाए । ६०औं मिनेटमा मिचेल बात्सुयाईको प्रहार बारमा लागेर फर्कदा बेल्जियम बराबरीबाट चुक्यो । ६५औं मिनेटमा डोमिनिको बेरारडीले पेनाल्टीमा गोल गर्दै इटालीको अग्रता दोब्बर पारे । टिमोथी कास्टाग्नेले फेडरिको चिइसालाई फल गरेपछि रेफ्रीले इटालीलाई पेनाल्टी प्रदान गर्दा बेरारडी चुकेनन् ।
८२औं मिनेटमा यान्निक कारास्कोको प्रहारले गोलरक्षक जियानलुइजी डोन्नररुम्मालाई बिट गरेपनि पोस्टमा लागेर फर्कदा बेल्जियमले गोलअन्तर घटाउन सकेन । ८६औं मिनेटमा चार्लेस डि केटलारेले केभिन डि ब्रुयनको पासमा गोल गर्दै बेल्जियमलाई खेलमा २–१ को स्थितिमा ल्याएपनि हार टार्न सकेन ।
बेल्जियमले इटालीविरुद्ध आफ्नो महत्वपुर्ण दुई फरवार्ड कप्तान इडेन हाजार्ड र रोमेलु लुकाकुविनै खेलेको थियो । दुवै खेलाडी चोटका कारण टोलीबाट बाहिरिएका थिए ।आइतबार राति नै उपाधिका लागि स्पेन र फ्रान्सबीच प्रतिस्पर्धा हुदैछ । खेल नेपाली समयअनुसार राति १२ः३० बजे मिलानोमा शुरु हुनेछ ।

