काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिपको झण्डै ३ दशक लामो इतिहासमा भारत सर्वाधिक सफल टोली हो । अघिल्ला १२ संस्करणमा भारतले ७ पटक उपाधि जितेको छ । त्यसबाहेक माल्दिभ्सले २ पटक, बंगलादेश, श्रीलंका र अफगानिस्तानले समान १ पटक जितेका थिए । अफगानिस्तान सन् २०१५ पछि साफ च्याम्पियनसिपबाट बाहिरिसकेको छ ।
नेपाल, पाकिस्तान र भुटानले मात्र अहिले सम्म साफ च्याम्पियनसिप जितेको छैन । साफ च्याम्पियनसिपमा कमजोर इतिहास भएको नेपाल र सर्वाधिक सफल भारतबीच माल्दिभ्समा जारी १३ औं संस्करणमा आज प्रतिस्पर्धा हुँदैछ । साफमा यो यि दुई टोलीबीचको सातौं पटक भेट हुँदैछ ।
नेपालमा कसरी हेर्ने खेल ?
नेपाल र भारत बीचको खेल आज बेलुका नेपाली समय अनुसार ९:४५ बाट सुरु हुनेछ। यो खेल नेपालमा याक्सन स्पोर्ट्स च्यानलमा प्रत्यक्ष रूपमा हेर्न सकिनेछ।
भारतविरुद्ध साफ च्याम्पियनसिपमा होस् वा समग्रमा नेपालको इतिहास कमजोर रहेको छ ।
साफ च्याम्पियनसिपमा यसअघि ६ पटकको भेटमा नेपाल ५ पटक पराजित भएको थियो भने एक खेलमा जितेको थियो । २०१३ मा स्वदेशमा भएको साफ च्याम्पियनसिपमा भने नेपालले २–१ ले हराएको थियो । निर्धारित ९० मिनेटको खेलमा नेपालले भारतमाथि त्यो पहिलो जित थियो । नेपाल र भारतबीच पहिलो खेल भएको २८ वर्षपछि नेपालले भारतविरुद्ध निर्धारित ९० मिनेटको खेलमा जित निकालेको थियो ।
१९८५ मा नेपालमा आयोजना भएको तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साग) र हालको दक्षिण एसियाली खेलकुद (साग) को पहिलो संस्करणमा नेपाल र भारतबीच पहिलो अन्तर्राष्ट्रिय खेल भएको थियो । त्यो खेल गोलरहित बराबरी खेलेको थियो ।
छैटौं सागमा भारतलाई हराएर नेपालले स्वर्ण पदक विजेता बनेको थियो । २–२ को बराबरीपछि पेनाल्टी सुटआउटमा ४–३ ले भारतलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको थियो । नेपाल र भारतबीच साफ च्याम्पियनसपिमा ६ वर्ष पछि प्रतिस्पर्धा हुन लागेको हो । यसअघि यि दुई टोलीबीच २०१५ मा भेट भएको थियो । त्यो खेलमा भारतले नेपाललाई ४–१ हराएको थियो । त्यो खेलमा नेपालका लागि विमल घर्ती मगरले सुरुवाती गोल गरेका थिए ।
त्यसअघि ३ खेलाडीले मात्र साफ च्याम्पियनसिपमा भारतविरुद्ध गोल गरेको थिए। २००५ मा भारतसँग २–१ को हारमा बसन्त थापाले गोल गरेका थिए । घरलु मैदानमा भारतलाई २–१ ले हराउँदा नेपालका लागि अनिल गुरुङ र जुमानु राईले गोल गरेका थिए ।
साफ च्याम्पिनसिपमा सधैको दाबेदार भारतको यसपटकको सुरुवात भने कमजोर रहेको छ । नेपालले भने अहिले सम्मकै राम्रो सुरुवात गरेको छ । साफ च्याम्पियनसिपको इतिहासमै पहिलो पटक सुरुवाती दुई खेल जितेको नेपाल ६ अंकसहित शीर्षस्थानमा रहेको छ । भारतले भने सुरुवाती दुई खेलमा बराबरीमा चित्त बुझाउनु परेको थियो ।
नेपालले आयोजक माल्दिभ्सलाई १–० ले र श्रीलंकालाई ३–२ ले हराएको थियो । भारत भने पहिलो खेलमा बंगलादेशसँग १–१ को बराबरी र दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो । यसपटकको भेटमा भारत दबाबमा रहेको छ । नेपालसँगको खेल गुमाएको खण्डमा टोली साफ च्याम्पियनसिपको फाइनल पुग्नबाट बञ्चित हुन सक्नेछ ।
साफ च्याम्पियनसिपमा मात्र होइन, साग, अन्य प्रतियोगिता वा मैत्रीपूर्ण खेलमा पनि भारनविरुद्ध नेपाल कमजोर रहँदै आएको छ । यसअघिका २० भेटमा नेपालले पेनाल्टी सुटआउटसहित २ खेलमा जित हासिल गर्दा ४ मा बराबरी खेलेको छ । १४ खेलमा भने नेपाल पराजित भएको थियो।

