यी ५ खेलाडी मध्ये कसले हात पार्ला २०२१ को ब्यालुन डी ओर अवार्ड ? तपाईंको मत कसलाई ?

फुटबल जगतकै सबैभन्दा प्रतिष्ठित व्यक्तिगत अवार्ड हो ब्यालुन डी ओर। कोरोना महामारीका कारण पछिल्लो वर्ष स्थगित भएको यो अवार्ड यो वर्ष भने आयोजना हुनेछ। पछिल्लो समय रोनाल्डो र मेस्सीले ब्यालुन डी ओर अवार्डमा एकक्षत्र राज गरेका छन्। पछिल्ला १२ मध्ये ११ पटक यस प्रतिष्ठित अवार्ड यी दुई मध्ये एकको पोल्टामा गएको छ।

सन् २०१८ मा रियल म्याड्रिड मिडफिल्डर लुका मोड्रीक विजेता घोषित हुँदै यी दुईको लगातार १० वर्षीय एकलौटी राज तोडेका थिए। मेस्सीले ६ पटक ब्यालुन डी ओर जित्दा रोनाल्डो ५ पटक विजेता घोषित भएका छन्। यस वर्ष भने यी दुई खेलाडीका साथै अन्य केहि खेलाडी पनि उक्त अवार्डको प्रमुख दाबेदारको रूपमा उब्भिएका छन्। यस्तोमा आज २०२१ वर्षको ब्यालुन डी ओर जित्ने ५ प्रमुख दाबेदारको बारेमा बताउँछौं…

५. क्रिस्टियानो रोनाल्डो – पोर्चुगल/म्यानचेस्टर युनाइटेड 

अन्तराष्ट्रिय स्तरमा सर्वाधिक गोल गर्ने रेकर्ड आफ्नो नाम गरेका रोनाल्डोका लागि सन् २०२१ त्यति खास रहेन। तर व्यक्तिगत हिसाबले भने उनी निकै उत्कृष्ट देखिए। सरी-ए को पछिल्लो सिजनमा सर्वाधिक गोलकर्ता बनेका रोनाल्डो युरो २०२० मा पनि सबैभन्दा बढी गोल गर्दै गोल्डेन बुट जित्न सफल भए। हालै पूर्व क्लब म्यानचेस्टर युनाइटेडसँग आवद्ध भएका रोनाल्डोलाई यो सिजन ब्यालुन डी ओर दौडमा ठूला उपाधिको कमीले भने पक्कै सताउन सक्छ।

४. एन्गोलो कान्ते – फ्रान्स/चेस्ली 

चेल्सीको च्याम्पियन्स लिग विजेता बन्ने यात्रामा सबैभन्दा महत्वपूर्ण भूमिका खेलेका युइएफए वर्ष मिडफिल्डरले च्याम्पियन्स लिग क्वाटर-फाइनलको दोस्रो लेग देखि लगातार ४ पटक ‘म्यान अफ द म्याच’ प्रदर्शन दिन सफल भए। फ्रान्सलाई युरो २०२० को उपाधि जिताउन सकेको भए उनको सम्भावना अझै मजबूत हुने थियो। फ्रान्सले आउँदो अक्टोबरमा नेशन लिगको सेमी-फाइनलमा बेल्जियमको सामना गर्दै छ। यदि फ्रान्सलाई उक्त उपाधि जिताएको खण्डमा चेल्सी मिडफिल्डर आफ्नो दाबेदारी अझै मजबूत गर्न सक्छन्।

३. रोबर्ट लेवान्डोस्की – पोल्याण्ड/बार्य न म्युनिख 

हाल दुनिया कै सर्वश्रेष्ठ स्ट्राइकर भन्दा फरक नपर्ला बार्यन स्टार रोबर्ट लेवान्डोस्कीलाई। पछिल्लो २ वर्षमा निकै उत्कृष्ट लयमा रहेका उनले गत सिजन बुन्डेसलिगाको एकै सिजनमा सबैभन्दा बढी गोल गर्ने रेकर्ड आफ्नो नाममा गरे। मात्र २९ खेलमा ४१ गोल गर्दै उनले झन्डै ५० वर्ष पुरानो गर्ड मुलरको रेकर्ड तोड्न सफल भए। गत वर्ष बुन्डेसलिगा उपाधि जितेका उनले यो सिजन पनि लिगमा ४ खेलमा ७ गोल गर्दै निकै उत्कृष्ट सुरुवात गरेका छन्। गत वर्षका प्रमुख दाबेदार रहेका पोलिस कप्तानले यो वर्ष पनि आफ्नो दाबेदारी प्रस्तुत गर्नेछन्।

२. जर्जिन्हो – इटाली/चेल्सी 

उपाधिको कुरा गर्ने हो भने यो सिजन इटालियन मिडफिल्डरले भन्दा बढी उपाधि कुनै पनि खेलाडीले जितेको छैन। चेल्सीसँग च्याम्पियन्स लिग विजेता बनेका जर्जिन्होले इटालीलाई युरो २०२० च्याम्पियन बन्न पनि महत्वपूर्ण भूमिका खेले। त्यस्तै, चेल्सीका साथ युइएफए सुपर कप जितेका २९ वर्षीय मिडफिल्डर युइएफए वर्ष खेलाडी पनि घोषित भइसकेका छन्। जसपछि उनलाई ब्यालुन डी ओर का लागि पनि प्रमुख दाबेदारको रूपमा हेरिएको छ।

१. लियोनल मेस्सी – पेरिस सेन्ट जर्मेन/अर्जेन्टिना 

६ पटकका ब्यालुन डी ओर विजेता मेस्सी अब बार्सिलोना खेलाडी रहेनन् भन्दा पनि अजिब लाग्छ। ट्रान्सफर विन्डो कै सबैभन्दा नाटकीय र चर्चित तरिकाले फ्रेन्च क्लब पीएसजी प्रस्थान गरेका मेस्सी कीर्तिमानी ७ पटक विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड जित्ने प्रमुख दाबेदार रहेका छन्। गत सिजन बार्सिलोनाबाट कोपा डेल रे मात्र जितेका मेस्सीको व्यक्तिगत सिजन भने निकै उत्कृष्ट रह्यो। लिगको सर्वाधिक गोलकर्ता बनेका मेस्सीले राष्ट्रिय टोलीलाई कोपा अमेरिका च्याम्पियन बनाएपछि उनी ब्यालुन डी ओर का प्रमुख दाबेदार बनेका हुन्।

करियर कै पहिलो अन्तराष्ट्रिय उपाधि जित्ने क्रममा प्रतियोगिता भर ४ गोल र ५ असिस्ट प्रदान गरेका मेस्सी बेस्ट प्लेयर र गोल्डेन बुट विजेता घोषित भएका थिए।

प्रकाशित : सोमबार, असोज २५, २०७८१५:४९

यस्तो रहेछ क्रिस्टियानो रोनाल्डोको नाम पछाडीको रहस्य, तपाईंलाई थाहा छ ?