लालिगा अध्यक्ष भन्छन्-“रोनाल्डो जाँदा केहि भएन, मेस्सी जाँदा त पर्लय नै भयो”

एजेन्सी – ला लिगाका अध्यक्ष जेभियर टेबासले लियोनेल मेस्सीको बहिर्गमन लालिगाका लागि बढी नै दुखदायी भएको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा मेस्सीको बहिर्गमनले लिगलाई अलि बढी नै प्रभाव पारेको बताएका हुन्।

क्रिस्टियानो रोनाल्डोले लालिगा छाड्दा पनि लालिगालाई असर परेको उल्लेख गर्दै उनले मेस्सीको बहिर्गमनले अलि बढी नै असर पारेको बताए। फुटबल इतिहाँसकै दुई सर्वोत्कृष्ट खेलाडी आफूहरुको लिगमा हुनेले धेरै फाइदा पुर्याएको भएपनि अब दुवैको साथ बिना अगाडी बढ्नुपर्ने अवस्था रहेको टेबासको भनाई छ।

“यो त एक दिन हुनु नै थियो। यो हुन्छ भन्ने हामीलाई पहिला नै थाहा थियो। क्रिस्टियानो रोनाल्डो, पेप ग्वार्डिओला वा जोसे मोरिन्होले छोडेको जस्तै भयो।”,कुनै न कुनै दिन मेस्सीको बहिर्गमन हुनु नै थियो भन्ने सङ्केत गर्दै टेबासले भने।

मेस्सी बार्सिलोना र रोनाल्डो रियल म्याड्रिडमा हुँदा लालिगालाई धेरै नै फाइदा मिलेको टेबासले स्वीकारे। दुईको उपस्थितले नै लालिगालाई विश्वको उत्कृष्ट लिगको रुपमा उभ्याएको टेबासको बुझाई छ।

उनले भने,”दुनियाँका दुई उत्कृष्ट फुटबलरहरु हाम्रा दुई उत्कृष्ट टिममा हुनु हाम्रा लागि ठूलो भाग्यको कुरा थियो। त्यसले लालिगालाई धेरै फाइदा मात्र पुर्याएको थिएन, त्यसले हामीले अग्रस्थानमा राख्न पनि भूमिका खेलेको थियो।”

व्यक्तिगत रुपमा आफू मेस्सीलाई फुटबल इतिहाँसकै सर्वोत्कृष्ट खेलाडी मान्ने पनि टेबासले बताए। मेस्सीको बहिर्गमनले बार्सिलोना र लालिगा दुवैलाई असर गरिरहेको टेबासको स्वीकारोक्ति छ।

“सायद मेस्सीको बहिर्गमन अलि बढी पीडादायी भयो जस्तो लाग्छ। म व्यक्तिगत रुपमा मेस्सीलाई इतिहाँसकै सर्वोत्कृष्ट भन्ने भएर पनि होला त्यस्तो लागेको।”,उनले भने।

प्रकाशित : सोमबार, असोज २५, २०७८१५:४९

यी ५ खेलाडी मध्ये कसले हात पार्ला २०२१ को ब्यालुन डी ओर अवार्ड ? तपाईंको मत कसलाई ?