५ पटक जब मेस्सीको खेलले विपक्षी टोली राम-राम मात्र भन्न बाध्य भए !

लियोनल मेस्सीको करियर महानताको सहि परिभाषा हो। ६ ब्यालुन डी’ओर अवार्ड, ६ युरोपेली गोल्डेन बुट, चार च्याम्पियन्स लिग उपाधि र धेरै अन्य ट्रफीहरुका साथ ३४ वर्षीय स्टार फुटबल इतिहासकै सबैभन्दा सजिएका खेलाडी मध्ये एक हुन्।

पक्कै पनि ३४ वर्षीय अर्जेन्टिनी स्टारको साथमा निकै उत्कृष्ट खेलाडीको उपस्थिति रहेको थियो। तर यसको मतलब यो भन्न मिल्दैन कि उनले कुनै टोलीमा प्रभाव पार्न सकेनन्। ६ पटकका ब्यालुन डी ओर विजेताले आफूले खेलेका हरेक टोलीको प्रमुख खेलाडी हुने गरेका छन्। आफ्नो उत्कृष्ट करियरमा अर्जेन्टिनी कप्तानले थुप्रै टोलीलाई ध्वस्त बनाएका छन्।

यस्तोमा आज हामी यस्ता पाँच खेलको बारेमा कुरा गर्छौं जब मेस्सी एक्लैले विपक्षी टोलीलाई आछु-आछु बनाए…

५. बार्सिलोना ४-१ आर्सनल (च्याम्पियन्स लिग क्वाटर फाइनल, २०१०) 

२००९-१० सिजनको च्याम्पियन लिग अन्तिम ८ को खेलको पहिलो लेगमा आर्सनलले साबिक विजेता बार्सिलोनालाई २-२ को बराबरीमा रोकेको थियो। जसपछि बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा पहिला आर्सनलले गोल गर्दै १-० को अग्रता लियो। तब नै तत्कालिन ब्यालुन डी ओर विजेता लियोनल मेस्सीको जादू सुरु भयो। उक्त खेलमा मेस्सी एक्लैले ४ गोल गर्दै साबिक विजेतालाई ४-१ को सहज जीत दिलाउन प्रमुख भूमिका खेले।

४. रियल म्याड्रिड २-३ बार्सिलोना (लालिगा, २०१७)

२०१७ को दोस्रो एल-क्लासिको चलीरहँदा लालिगा उपाधिको दौडमा रहनेको लागि बार्सिलोनालाई जीतको विकल्प थिएन। रियलको लागि भने बराबरी पनि उपाधिका लागि पर्याप्त हुने थियो। उक्त खेलमा मेस्सीको प्रदर्शन एल-क्लासिको इतिहास मै कुनै खेलाडीले गरेको सर्वश्रेष्ठ प्रदर्शन मध्ये एक रहेको छ। जीतको विकल्प नभएको बर्सिलोना रियलको घरेलु मैदानमा १-० ले पछि पर्यो तर मेस्सीले गोल गर्दै खेल बराबरीमा पुर्याए। एक समय २-१ को स्थितिमा रहेको बार्सिलोना खेलको अन्तिम मिनेटसम्म २-२ को स्थितिमा रहेको थियो। खेल बराबरीमा सकिएको स्थितिमा रियल म्याड्रिडले उपाधि जित्ने पक्का थियो।

तर त्यहि समयमा चल्यो रियलको मैदानमा मेस्सीको जादू। खेलको अन्तिम प्रहारमा गोल गर्दै मेस्सीले बार्सिलोनालाई ३-२ को जीत मात्र दिलाएनन्, उनले आफ्नो क्लबलाई उपाधि दौडमा जीवित पनि राखे।

३. अर्जेन्टिना ३-१ इक्वेडर (विश्वकप छनौट, २०१७) 

लगातार खराब प्रदर्शन गरिरहेको अर्जेन्टिनाको लागि २०१८ विश्वकपमा छनौट हुनको लागि इक्वेडर विरुद्धको अन्तिम खेल जित्नै पर्ने दबाब रहेको थियो। २ पटकको विश्व विजेता उक्त खेल नजितेको खण्डमा २०१८ को विश्वकपमा छनौट नै नहुने स्थितिमा रहेको थियो।

ला अलबिसेलेस्टेको हालत अझ खराब भयो जब खेल सुरु भएको पहिलो मिनेटमा नै इक्वेडरले गोल गर्दै १-० को अग्रता लियो। तर दबाब बढी रहँदा अर्जेन्टिनाको बचावमा उत्रिए आइकनिक नम्बर १० लियोनल मेस्सी। मेस्सीले उक्त खेलमा ह्याट्रिक गर्दै अर्जेन्टिनालाई ३-१ को जीत दिलाउन सफल भए।

२. बार्सिलोना ३-० बार्यन म्युनिख (च्याम्पियन्स लिग सेमी-फाइनल, २०१५) 

२०१४-१५ सिजनको च्याम्पियन्स लिगको सेमी-फाइनलमा आमने-सामने आए फुटबल जगतका दुई महारथी बार्सिलोना र बार्यन म्युनिख। उक्त खेल अगाडी जेर्मन क्लबका गोलकिपर मानुएल नुएरले मेस्सीलाई च्यालेन्ज समेत गरेका थिए। बार्सिलोनाको घरेलु मैदानमा भएको पहलो लेगमा बार्यनले अर्जेन्टिनी स्टारलाई खेलको ७५ औं मिनेटसम्म शान्त राख्न सफल भयो।

तर बार्सिलोना जिनियसको जादू कुनै पनि हालतमा चल्नु नै थियो। खेलको ७६ औं मिनेटमा मेस्सीले गरेको प्रहार नुएरले रोक्न सफल नहुँदा बार्सिलोनाले १-० को अग्रता लिन सफल भयो। जसको ३ मिनेट भित्र मै ३४ वर्षीय स्ट्राइकरले च्याम्पियन्स लिग इतिहास कै महान गोल मध्ये एक गोल गर्दै खेल पूरै तरिकाले आफ्नो पक्षमा परे। खेलको अन्तिम क्षणमा मेस्सी कै पासमा ब्राजिलियन स्टार नेयमारले गोल गर्दै बार्सिलोनालाई ३-० को जीत दिलाए। दोस्रो लेगमा स्पेनिस क्लब ३-२ ले पराजित भएपनि समग्रमा जीत निकाल्दै बार्सिलोना अर्को चरण प्रवेश गर्न सफल भयो।

१. बार्सिलोना ३-० लिभरपुल (च्याम्पियन्स लिग सेमी-फाइनल, २०१९) 

२०१८-१९ च्याम्पियन्स लिग सेमी-फाइनलको पहिलो लेगमा बार्सिलोनाले आफ्नै घरेलु मैदान क्याम्प नाउमा लिभरपुलको स्वागत गर्यो। खेलको सुरुवाती १० मिनेट भित्र नै लुइस सुआरेजको गोलबाट बार्सिलोनाले अग्रता लियो। जसपछि प्रिमियर लिग क्लबले खेलमा केहि पकड बनाउने प्रयास गरेपनि पहिलो हाफमा थप गोल हुन सकेन।

दोस्रो हाफ सुरु भएसँगै लिभरपुल निकै आक्रमक शैलीमा मैदानमा उत्रियो। लिभरपुलले बार्सिलोना माथि डर फैलाउन प्रयास गरिरहँदा सुरु भयो ‘द लियोनल मेस्सी शो।’ खेलको ७५ औं मिनेटमा मेस्सीले सामान्य गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए। तर त्यसको १० मिनेट पनि नपुग्दै जे भयो त्यसको लागि सायद कोहि पनि तयार थिएनन्। मेस्सीले आफ्नो करियर कै सर्वश्रेष्ठ मध्ये एक गोल गर्दै स्पेनिस क्लबलाई ३-० को अग्रता दिए। फ्री-किकको मार्फत गरेको उक्त गोल च्याम्पियन्स लिग इतिहास कै सर्वश्रेष्ठ फ्री-किक गोल मध्येमा पर्छ। ३५ यार्ड परबाट गरेको मेस्सीको उक्त गोलले सामाजिक सञ्जालमा तरंग नै उत्पन्न गरेको थियो।

प्रकाशित : सोमबार, असोज २५, २०७८१५:४८

यी हुन् हरेक महादेशका बेस्ट प्लेयर ? छैनन् रोनाल्डो, मेस्सी भने अझै उत्कृष्ट !