अलमुताइरीले आजको फाइनल गुमाउने !

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले शनिबार भारतविरुद्ध हुने साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल गुमाउने भएका छन् । प्रतियोगिताको लिग चरण दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको हो ।

साफले तयार पारेको प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड खाएको प्रतिबन्ध खेलाडीलाई मात्र लाग्ने उल्लेख छ । तर खेलमा रातो कार्ड पाएमा भने अफिसियलले पनि अर्को खेल गुमाउने नियमावलीमा उल्लेख छ । तर साफले अलमुताइरीले दुई फरक खेलमा पहेंलो कार्ड खाएको कारण देखाउँदै प्रतिबन्ध हुने लेख्दै पत्राचार गरेको छ, जुन नियममा उल्लेख नभएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसबारे पत्राचार पनि गरिसकेको छ । एन्फाले प्रतियोगिता नियमावली अनुसार अलमुताइरीलाई प्रतिबन्ध लगाउन नपाउने जनाएको छ । साफको पत्राचारकै कारण अलमुताइरी शुक्रबार फाइनलअघि भएको पत्रकार सम्मेलनमा अनुपस्थित रहेको बुझिएको छ । खराब मौसमका कारण भर्चुअल रुपमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अलमुताइरी त्यहीं रहेपनि सहायक प्रशिक्षक किरण श्रेष्ठले जवाफ दिएका थिए ।

त्यसो त एएफसीको अनुशासन नियमावलीले कुनैपनि व्यक्तिले एक प्रतियोगिताको दुई खेलमा पहेंलो कार्ड पाउँछ भने अर्को खेल गुमाउने लेखेको छ । तर उक्त नियमावलीमा प्रतियोगिताको आफ्नै नियम छ भने त्यसमा परिवर्तन गर्न सकिने उल्लेख छ । साफको नियमावलीमा भने अफिसियललाई दुई फरक खेलको पहेंलो कार्डमा प्रतिबन्ध लाग्ने उल्लेख गरिएको छैन । अलमुताइरीले लिग चरणमा श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्ध पहेंलो कार्ड पाएका थिए ।

एएफसीको अनुशासन नियमावली

साफको नियमावलीको बुँदा ५९ मा खेलाडी र अफिसियललाई कार्ड दिनेबारे यस्तो लेखिएको छ:

५९ (क) – कुनैपनि खेलाडीले प्रतियोगिता दौरान दुई पहेंलो कार्ड पाउँछ भने दोस्रो कार्ड पाएको खेलपछि हुने खेलबाट प्रतिबन्ध भोग्नु पर्नेछ ।

५९ (ख) – कुनैपनि खेलाडी वा अफिसियल खेल दौरान रातो कार्ड खाँदै बाहिरिन्छन् भने उक्त कार्ड खाएपछिको खेलमा प्रतिबन्धित हुनेछन् । साफको अनुशासन समितिले उक्त कार्डको कारण हेरेर थप कारवाही गर्न सक्नेछ ।

साफको प्रतियोगिता नियमावली
यसअघि प्रतियोगिताको यसै नियम अनुसार नेपालका फरवार्ड अन्जन विष्ट र भारतका प्रशिक्षक इगोर स्टिमाचले प्रतिबन्ध बेहोर्ने पक्का भएको थियो । स्टिमाचले माल्दिभ्सविरुद्ध भएको खेलमा दुई पहेंलोसहित रातो कार्ड नै पाएका थिए । त्यसैले स्टिमाचको प्रतिबन्धबारे भने उनी आफैं पनि जानकार थिए । अब स्टिमाच र अलमुताइरी दुवैले खेल दौरान बेन्च मात्र होइन, टोलीको ड्रेसिङ रुममा पनि जान पाउने छैनन् ।

अन्जनले भने भारतविरुद्ध खेलको अन्तिम समयमा पहेंलो कार्ड पाएका थिए । त्यस्तै बंगलादेशविरुद्ध खेलको ४४ औं मिनेटमा पहेंलो कार्ड पाएका थिए । क्रसमा आएको बललाई हातले हान्न खोजेपछि रेफ्रीले उनलाई पहेंलो कार्ड दिएका थिए । खेलको ८६ औं मिनेटमा अन्जनलाई नै पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । त्यसै पेनाल्टीलाई गोलमा परिणत गर्दै उनले फाइनल यात्रा पक्का गरेका थिए ।

प्रकाशित : शनिबार, असोज ३०, २०७८१०:५९

पिएसजीलाई मेस्सी र नेयमार नहुँदा पनि फरक परेन, जिताउन एमबाप्पे नै काफी भए !