‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ मा भिड्दै हिमचितुवा घिमिरे

काठमाडौं – अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’मा भिड्ने भएका छन्।

जापानको नायोगा शहरस्थित ‘नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हल’मा आइतबार दिउँसो आयोजना हुने ४९ औँ सस्करणको सो अन्तर्राष्ट्रिय प्रतियोगितामा उनीसँग जापानका व्यवसायिक किक बक्सर फुजीमुराले रिङमा उत्रँदैछन्।

फुजीमुरा पनि के वान के बक्सिङ् प्रतिष्पर्धामा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन्। विश्वका चर्चित बक्सरको मात्र सो प्रतियोगितामा सहभागिता रहने बताइएको छ।

आज सामाजिक सञ्जालमा आयोजक सस्था सिमुरा डोजोले प्रतियोगितामा बक्सरद्वय घिमिरे र फुजीमुरा बीचमा हुने भिडन्तको अन्तिम तयारी पुरा भएको जनाएको छ।

अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले कोरोना कहरमा बीचमा सो प्रतियागिताका लागि पिताकै विशेष प्रशिक्षणमा पूरा गरेको जनाइएको छ। प्रशिक्षक देवकुमारले आज सामाजिक सञ्जाल मार्फत् प्रतियोगिताको आवश्यक अन्तिम तयारी सम्पन्न भएको जनाएका छन्।

प्रशिक्षक देवले पनि सामाजिक सञ्जालमा भनेका छन्, ‘युवा बक्सर अविरलले पछिल्लो समय बक्सिङमा नयाँ उचाइ हासिल गर्नुभएको छ। अविरलले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ चुम्नेमा म विश्वस्त छु। यो प्रतियोगितमा छनौट हुनु आफैमा प्रतिष्ठाको विषय हो। प्रतियोगिता हेर्न म सबैलाई आग्रह गर्दछु।’

सो प्रतियोगितामा विश्वका चर्चित बक्सरलाई मात्र रिङमा उतारिने गरिन्छ ।

‘हिमालयन चितुवा उपाधि’ले विश्व प्रसिद्ध अविरलले गत चैतमा जापानको टोकियो शहरमा सम्पन्न ‘के वान फेस्टिवल २०२१’ प्रतियोगिताको उपाधि चुम्ने कम उमेरका पहिलो नेपाली बक्सर बन्ने सौभाग्य प्राप्त गरेका थिए। उनले जापानी व्यवसायिक बक्सर खोतेचुलाई पहिलो राउण्डमा नै ढालेर नयाँ इतिहास कायम गरेका थिए।

यसैगरी घिमिरेले गत वर्ष नै ‘प्रोफेसनल किक बक्सिङ हिट ४८’ मा जापानी खेलाडी योसिदा यइजी माथि सहज जित हात पारेका थिए।

सानो उमेरमा उँचो सफलता

सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका अविरलले प्रतिष्ठित ‘के वान किक बक्सिङ अन्तर्राष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए। नेपालको तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने पहिलो ‘बक्सर’ समेत भएका थिए।

२१ वर्षीय उनले बाज्रिलियन खेलाडी फिलिपसँग सो प्रतियोगितामा प्राविधिक कारणले मात्र पराजित हुनुपरेको थियो।

चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उनीहरु विगत पाँच वर्षदेखि जापानको नागोया शहरमा बस्दै आएका छन्। पछिल्लो समय उनले कम उमेरमा अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा खेल्ने पहिलो नेपाली युवा बन्ने सौभाग्यसमेत पाएका छन्।

‘हिट ४९ प्रोफेसनल हिट बक्सिङ च्याम्पियनसिप २०२१’ लाई जापानसहित अन्तर्राष्ट्रिय खेल क्षेत्रले उच्च महत्वका साथ हेर्ने बताइएको छ।

वेष्टर्न युनाइटेड क्लबका अध्यक्ष रामनारायण घिमिरेले दिएको जानकारीअनुसार अबिरलले खेलेका अधिकांश व्यावसायिक किक बक्सिङमा भिडन्तमा सर्वप्रथम भई विश्व कीर्तिमान कायम गर्न सफल भएका छन्।

उनले गतवर्ष नै टोकियोको नागोयामा सम्पन्न हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल भएका थिए। रोमाञ्जकारी सो भिडन्तमा उनले जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर टाइटल उपाधि जित्ने कान्छा बक्सर बनेका थिए।

उनले हालसम्म हिट–२४ किक बक्सिङ खेलको मिडिल वेटको दुई पटक च्याम्पियन तथा हालसम्म विभिन्न खेलमा अपराजित यात्रा गर्ने क्रममा नौ खेलमा नकआउट गर्दै विजय हासिल गरिसकेका र तीमध्ये नौ अन्तर्राष्ट्रिय खेलका आठ खेलमा सर्वप्रथम भई विश्व कीर्तिमान कायम गर्न सफल भएका गुर्जुराधास्थित अन्तर्राष्ट्रियस्तरको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका अध्यक्ष राजेश घिमिरे जानकारी दिए। अविरलले नियमितरुपमा सिमुरा डोजोमा प्रशिक्षण लिँदै आएको उनले जानकारी दिए।

‘अविरलसँग अद्भूत, अदम्य साहस, जोश र लगनशीलता छ। उ राष्ट्रिय प्रतिभा हो। सम्मान गरौँ’ उनले भने। रासस

प्रकाशित : शनिबार, असोज ३०, २०७८१९:५२

नेपालको सुरुवाती ११ सार्वजनिक ! को-को परे ? खेल कुन च्यानलमा हेर्ने ?