काठमाडौं – साफ च्याम्पियनसिपमा दोस्रो भएको राष्ट्रिय फुटबल टोली मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी र खेलाडी रोहित चन्द विना सोमबार विहान स्वदेश आइपुगेको छ । टोली ३७ औं दिनमा स्वदेश फर्केको हो ।
साफ च्याम्पियनसिपको झण्डै ३ दशक लामो इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको थियो । माल्दिभ्समा भएको च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो । १३ औं संस्करणमा आइपुग्दा भारत आठौं पटक च्याम्पियन बनेको हो । छ महिना भन्दा लामो समयदेखि राष्ट्रिय टोलीको प्रशिक्षणमा व्यस्त रहेका कारण आफूले केहि दिनको विश्राम चाहेको अलमुताइरीले बताएका थिए ।
उनले केहि दिनपछि मात्र नेपाली टोलीको प्रशिक्षकमा कायम रहने नरहने विषयमा निर्णय लिने बताएका थिए । यद्दपी राउन्ड रोविनको अन्तिम खेलबाट फाइनल पुगेपछि उनले नेपाल नकर्फने बताएका थिए । फाइनलपछि भने उनले केहि समयपछि निर्णय लिने भन्दै फर्कने सम्भावनालाई कायम राखेका थिए ।
इन्डोनेसियाको पर्सिजा जाकार्ताबाट व्यवसायिक फुटबल खेल्दै आएका रोहित क्लबको जिम्मेवारीका लागि त्यसतर्फ गएका छन् । च्याम्पियनसिपमा भाग लिनका लागि पनि उनी डन्डोनेसियाबाट सिधै माल्दिभ्स पुगेका थिए । कतारमा टोलीको अन्तिम तयारीमा रोहित थिएनन् । उनी त्यति बेला क्लबको खेलमा व्यस्त थिए ।
कतारमा रोकिएका अलमुताइरीले फाइनलपछि समर्थकहरुलाई टोलीलाई निरन्तर साथ दिन आग्रह गर्दै स्वागतमा विमानस्थल आउन आग्रह गरेका थिए । ‘यो मेरो सबै नेपाली समर्थकका लागि विशेष आग्रह हो, जब राष्ट्रिय टोली नेपाल फर्कन्छ । सबै जना विमानस्थल आएर सम्मान गर्नुपर्छ, फाइनल पछि उनले भनेका थिए, यदि यसै स्तरमा निरन्तर खेलिरहने हो भने खेलाडीलाई साथ र समर्थन गर्नुपर्छ । प्रशिक्षक, संघ र सरकारबारे सोच्ने होइन, टोलीलाई साथ दिनेबारे सोच्नुहोस् । ’
महिना दिन भन्दा लामो समयपछि फुटबल टोली स्वदेश फर्केको हो । साफको तयारीको सिलसिलामा नेपाली टोली भदौ २५ गते कतार गएको थियो । कतारबाट साफ च्याम्पियनसिपका लागि टोली असोज ११ गते माल्दिभ्स पुगेको थियो । कतार जानुअघि नेपाली टोलीले चैत १७ र २० गते दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेल १–१ को बराबरी र दोस्रोमा भारत २–१ ले विजयी भएको थियो । माल्दिभ्स जानुअघि टोलीले कतारमा दुई मैत्रीपूर्ण खेल समेत खेलेको थियो ।
साफ च्याम्पियनसिपमा यसपटक नेपालले दमदार सुरुवातका साथ यात्रा अघि बढाएको थियो । पहिलो पटक सुरुवाती दुई खेल जित्ने क्रममा नेपालले माल्दिभ्सलाई १–० र श्रीलंकालाई ३–२ ले हराएको थियो । तेस्रो खेलमा भारतसँग १–० ले पराजित नेपाली टोलीले राउन्ड रोविनको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै पहिलो पटक फाइनल यात्रा तय गरेको थियो । कमजोर सुरुवात गर्ने क्रममा पहिलो दुई खेलमा बराबरी गरेको भारतले त्यसपछिका दुवै खेल जितेर ८ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनल यात्रा तय गरेको थियो । नेपाल ७ अंकका साथ दोस्रो हुँदै अन्तिम दुईमा पुगेको थियो ।