सभापति बन्ने दाउमा रामचन्द्र, गगन महामन्त्रीमा पक्का !

काठमाडौँ – क्रियाशील सदस्यता विवाद टुंगो लाग्न नसक्दा नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्योलमा परेका बेला नेता रामचन्द्र पौडेल भने आफ्नो टिम (टोली) बनाउन सक्रिय छन्। महाधिवेशनबाट आफू पार्टीको नेतृत्वमा पुग्न संस्थापन इतरपक्षका नेताहरूलाई मिलाएर टोली बनाउन पौडेल लागिपरेका हुन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

संस्थापन इतर पक्षबाट सभापतिका आकांक्षी महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालालाई टोलीमा समेटेर आफू सभापति हुने कसरतमा पौडेल जुटेका छन्। सिंह र शेखरलाई उपसभापतिमा मनाएर पार्टीको १४औं महाधिवेशनमा सभापतिको प्रत्याशी बन्ने रणनीति पौडेलको छ।

तर अहिलेसम्म सिंह र शेखर दुवैले सभापतिको उम्मेदवार बन्ने दाबी गर्दै आएका छन्। बरु सिंह र शेखरले पौडेललाई पार्टीको अभिभावक बनेर बस्न सुझाउँदै आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गर्दै आएका छन्।

पौडेलले भने शेरबहादुर देउवालाई आफूले मात्र पराजित गर्न सक्ने दाबी गर्दै एकपटकका लागि सहयोग गर्न संस्थापन इतर नेताहरूलाई आग्रह गर्दै आएका छन्। वर्तमान सभापति देउवाले फेरि पनि दोहोरिन त्यसैअनुसार तयारी थालेका छन्। पौडेलले देउवालाई हराउन सिंह र शेखर दुवैलाई उपसभापतिको उम्मेदवार बन्न आग्रह गरेको स्रोतको दाबी छ।

१३औं महाधिवेशनमा आफूले सहयोग गरेको भन्दै सिंहले पौडेलको प्रस्ताव अस्वीकार गरी सबैलाई समेटेर आफैँ सभापतिको प्रत्याशी बन्ने बताउँदै आएका छन्। शेखरले पनि आफू सभापतिबाहेक अन्य पदमा उम्मेदवार नबन्ने बताउँदै आएका छन्। उनले पार्टीका बहुमत नेता तथा कार्यकर्ता आफ्नो पक्षमा रहेको दाबी गर्दै पौडेललाई सभापतिबाहेक अन्य जिम्मेवारी लिन आग्रह गरेका छन्।

पार्टी महामन्त्री शशांक पनि सभापतिका आकांक्षी हुन्। उनले समेत आफूबाहेक देउवालाई अरूले हराउन नसक्ने दाबी गर्दै आएका छन्। तर, उनलाई पार्टी सरकारमा जाने अवस्थामा प्रधानमन्त्रीसहित पद दिएर मनाउने तयारीमा पौडेल रहेको स्रोतको दाबी छ।

शशांकको प्रस्तावमा नेता मिनेन्द्र रिजाललाई आफ्नो टोलीबाट महामन्त्रीको उम्मेदवार बनाउने आन्तरिक गृहकार्यमा पौडेल छन्। बाँकी एक महामन्त्रीमा गगनकुमार थापालाई अघि सार्ने पौडेलको तयारी छ।

पौडेललाई भेट्न पुगेका मध्ये धेरैजसो नेता–कार्यकर्ताले थापालाई टोलीमा समेट्न सुझाएको स्रोतको दाबी छ। ‘सबैले उहाँ (थापा) लाई समेट्नुपर्छ भन्नुभएको छ,’ स्रोतले भन्यो, ‘महामन्त्रीमा एकजना थापा पक्काजस्तै हो। अर्को एकजनामा शशांक उम्मेदवार नहुँदा मिनेन्द्र रिजाल उम्मेदवार बन्नुहुन्छ।’

थापा १३औं महाधिवेशनमा पौडेललाई सभापति अस्वीकार गर्दै प्रत्याशी बनेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थिए। सिटौलाको सिफारिसमा स्वास्थ्यमन्त्री बनेका थापाले केही समययता उनको समूह छाडेका छन्।

प्रकाशित : मङ्गलबार, कार्तिक ०२, २०७८०८:४८

‘सरकारलाई परमादेश र जनादेश प्राप्त छ’