एट्लेटिकोले रोक्न सक्ला सलाह-माने-फर्मिनोको पेलान ?

एजेन्सी – च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा पोर्टो विरुद्ध जित निकाल्न नसकेपनि स्पेनिस च्याम्पियन एट्लेटिको म्याड्रिडले दोस्रो खेलमा भने राम्रो प्रदर्शन गर्यो। एट्लेटिकोले समूह चरणको खेलमा एसी मिलानलाई पराजित गरेको थियो। एसी मिलानलाई २-१ ले पराजित गरेसँगै एट्लेटिको समूह ‘बि’को दोस्रो स्थानमा उक्लिन पुग्यो।

घरेलु मैदान वान्डा मेट्रोपोलिटानो स्टेडियममा एट्लेटिकोले समूहको शिर्ष स्थानमा रहेको लिभरपुलको सामना गर्दैछ। खेल नेपाली समय अनुसार आज राति १२ बजेर ४५ मिनेटमा शुरु हुनेछ।

लिभरपुल च्याम्पियन्स लिगका पछिल्ला दुई खेलमा पराजित भएको छैन। ६ अंक सहित लिभरपुल शिर्ष स्थानमा छ। लिभरपुलले यस अगाडी पोर्टो र एसी मिलानलाई हराइसकेको छ। पोर्टोलाई लिभरपुलले ५-१ को गोल अन्तरले पराजित गरेको थियो भने एसी मिलानलाई २-१ को गोल अन्तरले पराजित भएको थियो।

घरेलु लिगमा के छ अवस्था ?

लिभरपुल र एट्लेटिको आ-आफ्नो घरेलु लिगमा राम्रो प्रदर्शन गरिरहेका छन्। ला लिगा अन्तर्गत ८ खेल खेल्दा एट्लेटिकोले ५ जित निकाल्दा २ खेलमा बराबरी खेलेको छ भने १ खेलमा पराजय भोगेको छ।

त्यस्तै लिभरपुल भने नयाँ सिजन शुरु भएयता पराजित भएको छैन। समान ८ खेल खेल्दा लिभरपुलले ५ खेलमा जित निकालेको छ भने ३ खेल बराबरी खेलेको छ।

खेलाडी माथि नजर

आज राति हुने खेलमा एट्लेटिको र लिभरपुलले को-को उतार्छन् भन्नेमा सबैको चासो छ। नयाँ सिजन शुरु भएपछि उच्च लयमा देखिएको सलाह-माने-फर्मिनोको ट्रियोलाई लिभरपुलले उतार्ने लगभग पक्का जस्तै छ। गएको दुई खेलमा विश्वस्तरीय गोल गरेका मोहम्मद सलाह माथि सबैको नजर रहनेछ।

त्यस्तै एट्लेटिकोको तर्फबाट लुइस सुआरेज, एन्टोइन ग्रिजम्यान जस्ता खेलाडीले आक्रमण सम्हाल्ने उच्च सम्भावना छ। कीरन ट्रीपिय, लेमार, ओब्लाक लगायत पहिलो टोलीमा पर्न सक्छन्।

कुन च्यानलमा हेर्ने ?

एट्लेटिकोले र लिभरपुल बीचको खेल कुनै पनि नेपाली च्यानलले प्रशारण गर्ने छैनन्। खेल हेर्न भारतीय च्यानलको भर पर्नुपर्नेछ। खेल सोनी टेन २ च्यानलमा हेर्न सकिनेछ।

प्रकाशित : मङ्गलबार, कार्तिक ०२, २०७८१३:२९

१६ वर्ष पछि मेस्सी-रामोस बिनाको एल क्लासिको, बेन्जेमा भन्छन् -‘फरक पर्दैन’