एजेन्सी – कुनै समय क्लब स्तरमा क्रिस्टियानो रोनाल्डोसँग खेलेका स्पेनिस महारथी रियल म्याड्रिडका पूर्व कप्तान सर्जियो रामोसले आफू पूर्व बार्सिलोना तथा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको ठूलो प्रशंसक रहेको बताएका छन् । रियल म्याड्रिडमा १६ वर्षको खेल जीवनपछि यसै सिजन मात्र फ्री-एजेन्टको रूपमा फ्रेन्च क्लब पीएसजीसंग आवद्ध भएका रामोसले आफू मेस्सीको ठूलो फ्यान भएको बताएका हुन्।

लालिगामा रहँदा थुप्रै पटक मेस्सीको सामना गरेका रामोसले मेस्सी निकै उत्कृष्ट खेलाडी रहेको र उनी सधैं आफ्नो रोजाईमा पर्ने खुलासा गरेका हुन्। टिएनटि स्पोर्ट्ससंग कुरा गर्दै ३५ वर्षीय डिफेन्डरले भने,”म सधैं उत्कृष्ट खेलाडीहरु सँग खेल्न चाहन्छु । मेस्सी विश्वका उत्कृष्ट खेलाडीमा पर्छन् । मैले सधैं भन्दै आएको छु की मेस्सी मेरो रोजाइमा पर्ने खेलाडी हुन्।”

मेस्सीसँग सन् २०१३ देखि २०१७ सम्म सँगै खेलेका नेयमार र मेस्सी स्वयम् ले अब रामोससँग एकै टोलीबाट खेल्नेछन् । तर चोटका कारण लामो समयदेखि मैदान बाहिर रहेका कारण रामोस र मेस्सी एकै टोलीबाट खेलेको अझै देख्न पाइएको भने छैन ।

“हाम्रो टोली एक अर्काको विरुद्धमा उत्रिएपनि हाम्रो सम्बन्ध राम्रो थियो । म पिएसजी आएपछि उनीसँग नियमित कुरा भएको छ । जब स्टार खेलाडीले नै आफूलाई खोज्छन् भने त्यो निकै राम्रो हो,” नेयमारसँगको सम्बन्धमा रामोसले भने ।

पीएसजीमा रामोस रियलका पुर्व सहयात्री केलर नाभास, एन्जल डि मारिया, अक्रफ हाकिमीसँग पुर्नमिलन हुनेछ । जुआन बर्नाट, सर्जियो रिको, पाब्लो साराविया र एन्डर हेरेरा उनको स्पेनिस सहयात्री हुनेछन् ।

