पछि परेको अवस्थामा युनाइटेडले नतिजा उल्ट्यायो, रोनाल्डोको निर्णायक गोल !

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरेपछि म्यानचेस्टर युनाइटेडले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको खेलमा एटलान्टालाई पराजित गरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफर्डमा पहिलो हाफमा नै २-० ले पछि परेको युनाइटेडले दोस्रो हाफमा सानदार पुनरागमन गर्दै ३-२ को जित दर्ता गर्यो । खेलको १५ औं मिनेटमा नै मारियो पासलीचले पाहुना टोलीलाई अग्रता दिलाएका थिए । उनले डेविड जापाकोस्टाको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । २९ औं मिनेटमा मेरिह डेमिरालले गोल गर्दै अग्रता दोब्बर पारे । उनले तेउन कोपमिनार्सको कर्नरमा हेडरमार्फत गोल गर्दा युनाइटेड २-० ले पछि परेको थियो ।

दोस्रो हाफको ५३ औं मिनेटमा मार्कस रासफर्डले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने संकेत देखाए । उनले ब्रुनो फर्नान्डेसको पासमा गोल गरेका थिए । ७५ औं मिनेटमा ह्यारी मगाएरले बराबरी गोल फर्काए । ब्रुनोकै पासमा उनले एटलान्टाको कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गरेका थिए ।

८१ औं मिनेटमा रोनाल्डोले हेडरमार्फत गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । उनले लुक शाको क्रसलाई ६ यार्ड बक्सनजिकबाट गोल गरेका थिए । त्यसपछि थप गोल हुन नसक्दा युनाइटेडले महत्त्वपूर्ण जित दर्ता गर्यो ।

समूहकै अर्को खेलमा भिल्लारियलले योंग ब्वाइजको मैदानमा ४-१ को जित दर्ता गर्यो । टोलीको जितमा येरेमी पिनो, जेरार्ड मोरेनो, अल्बर्टो मोरेनो र स्याम चुकेवेजेले १-१ गोल गरे । घरेलु टोलीको लागि एलियाले स्कोर २-१ बनाएका थिए ।

समूहको अंक तालिकामा युनाइटेड शीर्षस्थानमा उक्लिएको छ । टोलीको ३ खेलमा ६ अंक छ । एटलान्टा र भिल्लारियलको ४-४ अंक छ । पुछारको योंग ब्वाइजको ३ अंक मात्र छ ।

प्रकाशित : बिहिबार, कार्तिक ०४, २०७८०८:०५

रोनाल्डोका आलोचकलाई ओलेले दिए दह्रो झाप्पड, भन्छन्-‘रोनाल्डो जस्तो कोहि छैन’