एजेन्सी – क्याटलान क्लब बार्सिलोनाबाट फ्री ट्रान्सफरमा लियोनेल मेस्सी पेरिस सेन्ट जर्मेन(पिएसजी) पुग्दा धेरैको चासो थियो – किलियन एम्बाप्पेसँग उनको तालमेल मिल्ला ? यस्तो प्रश्न उठ्नु जाहेज पनि थियो। पिएसजीका नेयमारसंग मेस्सीले पहिला पनि सँगै खेलिसकेका थिए। तर एम्बाप्पेसँग भने मेस्सी पहिलो पटक सँगै खेल्दै थिए।
मेस्सी पिएसजी पुगेपछि एम्बाप्पे असन्तुष्ट रहेको खबर पनि आएका थिए। मेस्सी पिएसजी आएपछि आफू छायाँमा पर्ने र आफ्नो भूमिका कम रहन सक्ने भएका कारण एम्बाप्पे असन्तुष्ट रहेको बताइएको थियो।
तर पछिल्लो अवस्थालाई हेर्ने हो भने त्यस्तो केहि पनि देखिँदैन। मेस्सी र एम्बाप्पे बीच राम्रै तालमेल मिलिरहेको छ भने एम्बाप्पे मेस्सीको आगमनलाई लिएर असन्तुष्ट पनि देखिँदैनन्।
नेयमारको अनुपस्थितमा नजिकिँदै एम्बाप्पे र मेस्सी
मैदानमा मेस्सी र एम्बाप्पे बीच दिनप्रतिदिन तालमेल बढिरहेको छ। नेयमारको अनुपस्थितमा मेस्सी र एम्बाप्पे बीचको तालमेल अझ बढी घातक देखिरहेको छ। एम्बाप्पेले मेस्सीलाई च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटी विरुद्धको खेलमा असिस्ट दिएका थिए भने आरबी लाइप्जिङ विरुद्ध पनि मेस्सीलाई एम्बाप्पेले नै असिस्ट दिए।
मेस्सी-नेयमार-एम्बाप्पे बीच मैदानमा तालमेल नमिलेको भन्दै चर्चा गरिन्छ। तर मेस्सी र एम्बाप्पे भने एक-अर्कालाई कम खेलमै बुझ्न थालिसकेका छन्।
समस्यामा नेयमार
नयाँ सिजन शुरु भएयता नेयमारले अपेक्षा गरिएजस्तो प्रदर्शन गर्न सकिरहेका छैनन्। घरेलु लिगमा नेयमारले ५ खेल खेल्दा मात्रै १ गोल गरेका छन् भने उनले च्याम्पियन्स लिगमा खाता खोल्न बाँकी नै छ।
ब्राजिलका लागि विश्वकप छनौटमा खेल्दा चोटिल हुन पुगेका नेयमार फर्ममा छैनन्। जसकारण उनी च्याम्पियन्स लिग अन्तर्गत लाइप्जिङ विरुद्ध खेल्न सकेनन्।

