एजेन्सी – साउदी अरेबियाको सार्वभौम धन कोषले किनेसँगै इंग्लिस प्रिमियर क्लब न्युकासल युनाइटेड नयाँ तरिकाले अगाडी बढ्ने योजनामा छ। लिगमा टिकिरहन नै संघर्ष गर्दै आएको न्युकासल अब प्रिमियर लिग जित्नेगरि अगाडी बढ्न लागेको बताइन्छ।
विश्वकै सबै भन्दा धनि कोषको अधिनमा क्लब भएसँगै अब क्लबले विश्वका उत्कृष्ट भन्दा उत्कृष्ट खेलाडी माथि बोलि लगाउने पक्का जस्तै छ। आउने ट्रान्सफर विन्डोमा युरोपभरीका क्लबले न्युकासलसँग प्रतिष्पर्धा गर्नुपर्नेछ।
पछिल्लो एक खबरका अनुसार न्युकासलले क्याटलान क्लब बार्सिलोनाका एक खेलाडी माथि नजर लगाइरहेको छ। विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरुले बताएअनुसार न्युकासलको नजर बार्सिलोनाका फरवार्ड ओस्मान डेम्बेले माथि छ। अहिले चोटिल भएर यस सिजन मैदानमा नदेखिएका ओस्मान डेम्बेलेलाई आउने ट्रान्सफर विन्डोमा न्युकासलले भित्रयाउन सक्छ।
बार्सिलोनामा डेम्बेलेको सम्झौता आउने जुन सम्म मात्रै छ। बार्सिलोनाले सम्झौता थप गर्नका लागि केहि प्रस्ताव गरेको भएपनि डेम्बेलेले स्वीकार गरिसकेको अवस्था छैन।
जुन पछि डेम्बेले फ्री ट्रान्सफरमा उपलब्ध हुने उच्च सम्भावना देखिन्छ। सोहि कारणले गर्दा न्युकासल अहिले देखि डेम्बेले योजना सहित अगाडी बढिसकेको छ। बताइएअनुसार न्युक्यासल डेम्बेलेलाई उच्च पारिश्रमिक दिन तयार छ। डेम्बेलेको पारिश्रमिक १५ मिलियन सम्म हुन सकने बताइन्छ।
डेम्बेले सन् २०१७ मा बार्सिलोना पुगेका थिए। बोरुसिया डर्टमण्डबाट बार्सिलोनाले उनलाई १ सय ५ मिलियन युरोमा किनेको थियो। बार्सिलोना आएयता डेम्बेलेले खासै राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। लगातार घाइते हुँदै आएका उनी धेरै जस्तो मैदान बाहिर रहने गरेका छन्। गएको सिजन भने उनले पहिला भन्दा अलि लामै समय बार्सिलोनाका लागि मैदानमा उत्रिएका थिए।

