एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का युवा स्टार किलियन एम्बाप्पेले लियोनेल मेस्सी यस वर्षको बालोन डी’ओरको हकदार रहेको बताएका छन्। केहि पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिनेक्रममा एम्बाप्पेले मेस्सी पूर्णरुपमा बालोन डी’ओरको हकदार रहेको बताएका हुन्।
एम्बाप्पेका अनुसार मेस्सी बालोन डी’ओरको ‘पूर्ण हकदार’ हुन्। एम्बाप्प्पेले मेस्सीसँग खेल्न पाउनु गर्वको कूरा रहेको पनि बताए। उनले भने,”मेस्सीसँग खेल्न पाउनु गर्वको कुरा हो। मेस्सी बालोन डी’ओर जित्न पूर्ण रुपमा लायक छन्।
यसै सिजन पिएसजी पुगेका मेस्सी र एम्बाप्पे बीच सोचेको भन्दा राम्रो तालमेल मिलिरहेको छ। मेस्सी पिएसजी जाँदा असन्तुष्ट भनिएका एम्बाप्प्पे पछिल्लो समय मेस्सीसंग नजिक भैरहेका छन्।
च्याम्पियन्स लिग अन्तर्गत समूहचरणको तेस्रो खेलमा आरबी लाइप्जिङ विरुद्धको खेलमा पनि मेस्सी र एम्बाप्पे बीच राम्रो तालमेल देख्न मिल्यो। च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी विरुद्धको खेलमा मेस्सीलाई असिस्ट दिएका एम्बाप्पेले लाइप्जिङ विरुद्ध पनि मेस्सीलाई असिस्ट दिए।
त्यति मात्र होइन पेनाल्टी पाउँदा पनि मेस्सी र एम्बाप्पे बीच राम्रो समझदारी देखियो। पिएसजीले पाएको पेनाल्टी एम्बाप्पेले मेस्सीलाई पेनाल्टी प्रहार गर्न दिए भने दोस्रो पेनाल्टी मेस्सीले एम्बाप्पेलाई हान्न दिए।
खेलपछि एम्बाप्पेले विश्वकै उत्कृष्ट खेलाडी मेस्सीलाई पेनाल्टी सम्मानस्वरूप दिइएको बताए। उनले भने,”मैले मेस्सीलाई पेनाल्टी लिन किन दिएँ? सामान्य। यो सम्मान हो। उनी विश्वकै उत्कृष्ट खेलाडी हुन्।”
“त्यहाँ एक पेनाल्टी थियो, उनले पेनाल्टी लिए लिए र गोल गरे।”,एम्बाप्पेले भने,”दोस्रो, उनी मलाई दिन चाहन्थे र तर मैले गोल गर्न सकिन।”