एजेन्सी – युवा फरवार्ड अन्सु फाती सन् २०२७ सम्म क्याटलान क्लब बार्सिलोनामै रहने भएका छन्। क्लबसँग सम्झौता नविकरण गरेसँगै फाती सन् २०२७ सम्म बार्सिलोनामा रहने पक्का भएको हो।
फातीले बिहिबार क्लबसँग सम्झौता नविकरण गरे। युवा स्टार फाती र बार्सिलोना बीच ६ वर्षको नयाँ सम्झौता नविकरण गर्ने सहमति भएको हो। बिहिबार भएको सम्झौता अनुसार फाती १८ वर्षीय फाती सन् २०२७ सम्म बार्सिलोनामै रहनेछन्। उनको रिलिज क्लज एक बिलियन युरो रहनेछ।
पछिल्लो सम्झौता अनुसार फातीको बार्सिलोनासँगको सम्झौता यो सिजनको अन्त्यसम्म रहेको थियो । फाती र बार्सिलोना बीच सम्झौता नविकरणका बारेमा छलफल चल्दै गर्दा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले फातीलाई हाइज्याक गर्ने प्रयास गरेको खुलासा पनि भएको छ।
विभिन्न संचार माध्यमहरुका अनुसार फाती माथि पिएसजीको नजर थियो। बार्सिलोना र फाती पक्ष बीच सम्झौता नविकरण सहमतिमा पुगिनसकेको अवस्थामा पिएसजीले फातीलाई केहि प्रस्तावहरु पठाएको थियो। जसलाई फाती पक्षले सिधै अस्विकार गरिदिएको थियो।
बताइएअनुसार पिएसजी फातीलाई वार्षिक १५ मिलियन युरो सम्म पारिश्रमिक तिर्न तयार थियो। अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीको बर्हिगमनसँगै बार्सिलोनाको मुख्य खेलाडीको रुपमा रहेका फातीले पिएसजीको कुनै पनि प्रस्तावमा सहमत हुन सकेनन्।
अन्य क्लबको पनि प्रयास
फाती माथि अन्य क्लबले पनि चासो राखेका थिए। पिएसजीका आलावा म्यानचेस्टर युनाइटेड, लिभरपुल पनि फातीलाई भित्रयाउन चाहन्थे। दुवै क्लब बार्सिलोनाले दिने पारिश्रमिक भन्दा दोब्बर दिन तयार थियो। तर पनि फातीले बार्सिलोना नै रोजे।