“रोनाल्डोलाई फिर्ता बोलाएर युनाइटेडले गल्ती गर्यो, युनाइटेडको पतन पक्का छ”

एजेन्सी – प्रिमियर लिग क्लब एस्टन भिल्लाका पूर्व स्ट्राइकर गेब्रियल एग्बोलान्होरको भनाइलाई मान्ने हो भने म्यानचेस्टर युनाइटेडको ‘पतन’ शुरु भइसकेको छ।

एक टेलिभिजन कार्यक्रममा सहभागी हुनेक्रममा एग्बोलान्होरले युनाइटेदको ओरालो यात्रा शुरु भैसकेको छ। उनकै शब्दमा भन्नुपर्दा पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोका कारण युनाइटेड ‘पतन’को बाटोमा छ। यसै सिजन प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड फिर्ता भएका रोनाल्डोका कारण युनाइटेड असफल हुने एग्बोलान्होरको दावी छ।

“गएको सिजन युभेन्टसमा रोनाल्डोले राम्रो खेल्न सकेका थिएनन्। भन्ने हो भने रोनाल्डोले गएको सिजन भयानक खेलेका थिए। यस सिजन पनि उनले धेरै गोल गरिरहेका छैनन्, न त उनले राम्रै गोल नै गरेका छन्।”,एग्बोलान्होरले भने।

रोनाल्डो युनाइटेडको खेल शैलीमा भिज्न नसकेको पनि एग्बोलान्होरले बताए। रोनाल्डो उच्च स्तरको खेलाडी भएका कारण पनि युनाइटेडमा समस्या पैदा भैरहेको एग्बोलान्होरको भनाई छ।

उनले भने,”रोनाल्डो युनाइटेडको खेल शैलीमा भिज्न सकिरहेका छैनन्। रोनाल्डो कुन तरिकाले खेल्न चाहन्छ, त्यसमा उनी बाधक बनिरहेका छन्। समस्या यो हो कि, उनको उच्च प्रोफाइलका कारण सबै उनलाई पास दिनुपर्छ भन्ने सोचिरहेका छन्। त्यसैले पनि युनाइटेडमा समस्या भैरहेको छ।”

एग्बोलान्होरले गरेको दावी अनुसार युनाइटेडले रोनाल्डोलाई भित्रयाउन चाहेकै थिएन। रोनाल्डो म्यानचेस्टर सिटी जाने चर्चा भएपछि युनाइटेड समर्थकले दिएको दबावका कारण उनलाई युनाइटेडले भित्र्याएको एग्बोलान्होरको बुझाई छ।

“उनी युनाइटेडको पतनको कारक बन्दैछन्। भन्ने हो भने युनाइटेडले उनलाई भित्रयाउन चाहेकै थिएन। उनलाई सिटी जानबाट रोक्न र समर्थक खुशी मनाउन मात्र भित्र्याइएको हो।”,एग्बोलान्होरले बताए।

प्रकाशित : शुक्रबार, कार्तिक ०५, २०७८१८:०८

रोनाल्डो भर्सेस सलाह: ओलेको नजरमा को उत्कृष्ट ?