करियरको अन्त्य सम्म लिभरपुलमै बस्ने सलाहको चाहना !

एजेन्सी – लिभरपुलका मोहम्मद सलाहले लिभरपुलमै आफ्नो करियरको अन्त्य गर्ने चाहना व्यक्त गरेका छन्। लिभरपुलमा सलाहको सम्झौता नविकरणको चर्चा चलिरहेका बेला सलाहले लिभरपुल मै रहेर आफ्नो खेल करियरको अन्त्य गर्ने चाहना रहेको बताएका हुन्।

एक खेल मिडियासँग कुराकानी गर्दै सलाहले फुटबल करियरको अन्त्य सम्म लिभरपुलमै रहने आफ्नो चाहना रहेको बताए। तर त्यो कुरा आफूमा मात्र भर नपर्ने सलाहको भनाई छ।

“मलाई सोध्नुहुन्छ भने त म फुटबल करियरको अन्तिम दिनसम्म लिभरपुलमा रहन चाहन्छु। तर त्यस बारे म धेरै भन्न सक्दिन। त्यो सबै मेरो हातमा छैन।”,स्काई स्पोर्ट्ससंग कुराकानी गर्दै सलाहले भने।

त्यस्तै सलाहले लिभरपुल विरुद्ध खेल्ने कुरा आफूले कल्पना पनि गर्न नसक्ने समेत बताए। आफू लिभरपुलमा रहने अथवा नरहने भन्ने कुरा क्लबको निर्णयमा भर पर्ने सलाहको भनाई छ।

सलाहले भने,”म यहाँ रहने नरहने भन्ने कुरा क्लबको निर्णयमा भर पर्छ। मेरो त यहिं बस्ने चाहना छ। यस समय म आफैंलाई कहिल्यै लिभरपुल बिरुद्ध खेलेको देख्न सक्दिन। यसले मलाई दुखी बनाउनेछ।”

सलाहको लिभरपुलमा सन् २०२३ सम्मका लागि सम्झौता छ। सम्झौता नवीकरणका लागि सलाह पक्ष र लिभरपुल बीच छलफलहरु भैरहेका छन्। यधपी छलफलहरु निष्कर्षमा पुग्न भने सकेका छैनन्।

पारिश्रमिकलाई लिएर दुई पक्षबीच सहमति हुन नसक्दा सम्झौता थपको विषय टुंगिन नसकेको अन्तर्राष्ट्रिय संचार माध्यमहरु बताउँछन्। सलाहले सम्झौता नवीकरण गर्न धेरै उच्च परिश्रमिकको डिमाण्ड गरेको बताइन्छ।

बाहिर आएको सूचना अनुसार, सलाहले अहिले साप्ताहिक २ लाख ३७ हजार युरो पारिश्रमिक पाइरहेका छन्। तर सम्झौता थप गर्दा सलाह आफ्नो पारिश्रमिक बढोस् भन्ने चाहन्छन्। सलाहले साप्ताहिक ५ लाख ९२ हजार युरो पारिश्रमिक माग गरिएको बेलायती मिडियाहरुको दावी छ।

सलाहले माग गरेको पारिश्रमिक म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डोले पाउँदै आएको भन्दा पनि बढी हो। सलाहले माग गरेजति पारिश्रमिक पाउँछन् भने उनी लिभरपुल र प्रिमियर लिगकै सर्वाधिक पारिश्रमिक पाउने खेलाडी हुनेछन्।

प्रकाशित : शनिबार, कार्तिक ०६, २०७८११:०३

“मेस्सीलाई फ्रेन्च फुटबलमा टिक्न गार्हो पर्यो, शारीरिक रुपमा तयार देखिएनन्”