एजेन्सी – म्यानचेस्टर युनाइटेडका पोर्चुगिक स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो आलोचना गर्नेहरुको बोल्ती बन्द गरिदिने बताएका छन्। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा रोनाल्डोले आफ्नो आलोचना गर्नेहरुले राम्रो फुटबल खेलेर चुप लगाइदिने बताएका हुन्।
बेलायती टेलिभिजन स्काई स्पोर्ट्सलाई अन्तर्वार्ता दिनेक्रममा रोनाल्डोले उपाधिहरु जितेर आफ्ना आलोचकहरुलाई चुप बनाउने रोनाल्डोले बताए। व्यवसायिक फुटबल खेल्न थालेको २० वर्ष पुग्दै गर्दा पनि जित्ने भोक कम नभएको रोनाल्डोको भनाई छ।
आफ्नो आलोचना गर्ने र आफूले जितेको देख्न नचाहनेहरुकै कारण आफू प्रेरित हुने गरेको पनि रोनाल्डोले बताए। आलोचना र टिप्पणी गर्नेहरु खेलको एक हिसा रहेको रोनाल्डोको बुझाई छ।
“आलोचना देखि मलाई डर लाग्दैन। म आलोचनालाई राम्रो रुपमा लिन्छु। यो त खेलको अभिन्न हिस्सा हो। मेरो क्षमता भएरै त मैले राम्रो गर्न नसकेका बेला मेरो आलोचना गरिन्छ। यदि तपाईं स्कूलमा हुनुहुन्छ र तपाईं सबैभन्दा राम्रो विद्यार्थी हुनुहुन्छ भने खराब विद्यार्थीले जाहिले पनि तपाईंलाई नराम्रो भन्छन्।”,रोनाल्डोले भने।
फुटबल करियरमा धेरै भन्दा धेरै उपाधि जितेर पनि थप उपाधि जित्न आफू प्रेरित रहेको रोनाल्डोले बताए। थप उपाधि जित्नैका लागि आफू युनाइटेड आएको रोनाल्डोको भनाई छ। रोनाल्डोका लागि खुशी हुनु मुख्य कुरा हो।
रोनाल्डोले भने,”मलाई लाग्छ कि मुख्य कुरा यो कि म अझै खुशी र सन्तुष्ट छु। मैले करियरमा जति नै उपाधि जितेपछि जित्न मलाई पुगेको छैन। म अझ जित्न प्रेरित भएको छु। म अहिले जीवनको नयाँ अध्यायमा छु। उमेरका बाबजुत पनि म युनाइटेड जित्नका लागि आएँ। र मलाई लाग्छ कि जित्न म्यानचेस्टर उच्च तहमा हुनुपर्छ। म यसैको लागि आएको हुँ।”

