फ्रान्स तथा बार्सिलोनाका पूर्व स्ट्राइकर थियरी हेनरीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लियोनल मेस्सीको नभएर किलियन एम्बाप्पेको क्लब भएको बताएका छन्। फ्रेन्च क्लबका मुख्य सदस्य फ्रेन्च युवा सुपरस्टार एम्बाप्पे भएको उनको दाबी रहेको छ। २१ वर्ष बार्सिलोनामा बिताएपछि यसै सिजन मात्र ६ पटकका बालोन डी’ ओर विजेताले पीएसजीसँग २ वर्षीय सम्झौतामा हस्ताक्षर गरेका हुन्।
लियोनेल मेस्सीका पूर्व टिममेट समेत रहेका थियरी हेनरीले पेरिस सेन्ट-जर्मेनले बार्सिलोनाका पूर्व खेलाडीबाट थप फाइदा लिन सक्ने पनि ठोकुवा गरेका छन्। हेनरीले मेस्सीसँग बार्सिलोनामा एकसाथ खेलेका थिए।
फ्रेन्च क्लबका लागि च्याम्पियन्स लिगमा ३ खेलमा ३ गोल गर्न सफल भएका पूर्व बार्सिलोना कप्तान लिग १ जम्न भने अझै समय लाग्ने देखिएको छ। फ्रेन्च लिगमा संघर्ष गरिरहेका ३४ वर्षीय अर्जेन्टिनी स्टारले हालसम्म ४ खेलमा एक गोल पनि गर्न सकेका छैनन्। लिगमा मेस्सीको प्रदर्शनको केहि आलोचना समेत हुँदै आएको छ।
विश्व फुटबलमा मेस्सीको दर्जा निकै माथि रहेपनि हाल पीएसजीका लागि एम्बाप्पे सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै आएकोले उनी क्लबको मुख्य सदस्य भएको हेनरी बताउँछन्।
आरएमसी स्पोर्टसँग हेनरीले भने, “मेस्सी धेरै बोल्दैनन्; उनी खुट्टामा बल हुँदा बोल्छन्। अहिलेको लागि, यो किलियनको टोली हो। एम्बाप्पे अहिले सबैभन्दा चम्किरहेका छन्। प्राय: जसो बल उनको खुट्टामा जान्छ। कुनै पनि एक समयमा एक टोलीमा एउटा मात्र कन्डक्टर हुन सक्छ, अन्यथा तपाईं एउटै लयमा खेल्न सक्नुहुन्न। र यो टोलीमा, त्यहाँ धेरै कन्डक्टरहरू छन्।”