ओरालो यात्रामा डिपे, मेस्सी गएपछि लिनुपर्ने ठाउँ लिन सकेनन् !

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले डच फरवार्ड मेम्फिस डिपेसँग जे अपेक्षा गरेको थियो, त्यो हुन सकिरहेको छैन। लियोनेल मेस्सीको बहिर्गमन पछि बार्सिलोनाको आक्रमणलाई डिपेले सम्हाल्ने अपेक्षा गरिएपछि डिपेबाट सन्तोषजनक प्रदर्शन हुन सकिरहेको छैन।

बार्सिलोना आएपछि केहि खेलहरुमा राम्रो प्रदर्शन गर्न सकेपनि पछिल्ला खेलहरुमा भने उनी असफल भइरहेका छन्। भन्ने हो भने डिपे ओरालो यात्रामा छन्। डिपेले बार्सिलोनाका लागि पछिल्ला महत्वपूर्ण खेलहरुमा गोल गर्न सकेका छैनन्। बार्सिलोनाका लागि निर्णायक खेलाडी हुन सक्ने क्षमता भएपनि उनले त्यो पुष्टि गर्न उनी संघर्षरत छन्।

लालिगाको नयाँ सिजन शुरु भएपछि डिपे बार्सिलोनाले खेलेका ९ वटै खेलमै सहभागी भएका छन्। जसमा उनले ८ सय १० मिनेट मैदानमा बिताउँदा ४ गोल गरेका छन् भने २ असिस्ट दिएका छन्। एथलेटिक क्लब, गेटाफे, लेभान्टे र भ्यालेन्सिया जस्ता क्लब विरुद्ध उनले गोल गर्न सके। तर रियल म्याड्रिड वा एथ्लेटिको म्याड्रिड जस्ता क्लब विरुद्ध भने गोल गर्न सकेनन्।

सेप्टेम्बर ब्रेक अगाडी डिपेले बार्सिलोनाका लागि २ गोल गरेका थिए। त्यसपछि उनले दुई गोल त गरेका छन्। तर दुवै गोल पेनाल्टी हुन्। अगस्ट २९ पछि डिपेले ओपनप्ले गोल गर्न सकेका छैनन्।

च्याम्पियन्स लिगमा पनि कम्जोर

डिपे च्याम्पियन्स लिगमा पनि भनेजस्तो प्रदर्शन गर्न सकिरहेका छैनन्। बार्सिलोनाका लागि उनले च्याम्पियन्स लिगमा खाता खोल्न अझै बाँकी छ। च्याम्पियन्स लिगमा ३ खेल खेल्दै मैदानमा २ सय ५५ मिनेट बिताउँदा न त उनले गोल गर्न सके, न त असिस्ट नै दिन सके।

प्रकाशित : बुधबार, कार्तिक १०, २०७८१०:२३

बेल र हाजार्ड आउट, रियलमा नयाँ ट्रियोको उदय !