एजेन्सी – फुटबलमा आँखाले देखेको सबै सत्य हुँदैन। केहि घटनाहरु यस्ता पनि हुन्छन्, जसलाई आँखाले त देखिन्छ तर वास्तविकता भने फरक हुन्छ। फुटबलमा पेनाल्टी र फ्री-किक धेरै नै महत्वपूर्ण हुने हुँदा खेलाडीहरु त्यतिकै लडेको नाटक गर्छन्।
थोरै छोएको भरमा पनि खेलाडीहरु अवस्था हेरेर जमिनमा बजारिन पुग्छन्। यसरी लड्नेमा नाम चलेका खेलाडीहरु पनि छन्। त्यति मात्र होइन खेलाडीहरु जमिनमा बजरिएपछि धेरै दुखेको नाटक पनि गर्छन्। त्यतिकै लडेको(डाइभिङको) नाटक गर्ने केहि विश्वस्तरीय खेलाडीहरु बारे केहि चर्चा निम्न छ।
मोहम्मद सलाह
वर्तमान समयमा लिभरपुलका सलाह धेरै लयमा छन्। उनी अहिले विश्वकै उत्कृष्ट खेलाडीको रुपमा रहेका छन्। हालको अवस्थामा उनी लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो भन्दा पनि उत्कृष्ट रहेको चर्चा भइरहेको छ। तर पछिल्ला वर्षहरुमा सलाह माथि पनि डाइभिङको आरोप लागिसकेको छ।
यसै वर्ष लेस्टर सिटी विरुद्धको खेलमा सलाहले लडेको नाटक गर्न पुगे। पेनाल्टी बक्समा लडेपनि रेफ्रीले पेनाल्टी दिन अस्विकार गरे। त्यस्तै गएको सिजन वेस्ट ह्याम विरुद्धको खेलमा सलाहका कारण लिभरपुलले पेनाल्टी पाएको थियो। विपक्षी खेलाडीले छुनेबितिकै सलाह लड्नुलाई धेरैले नाटक भनेका थिए। सलाहको उक्त कदमको धेरैले आलोचना गरेका थिए।
ह्यारी केन
प्रिमियर लिग क्लब टोटेनहम हटस्परका स्ट्राइकर निसन्देह विश्वका उत्कृष्ट खेलाडीमा पर्छन्। टोटेनहमको प्रमुख खेलाडी रहेका केनलाई पनि डाइभिङको आरोप लागिसकेको छ।
गएको सिजन ब्राइटन विरुद्धको खेलमा केनले भिएआरलाई छक्याउने काम गरेका थिए। उक्त खेलमा केन यसरी लडेकी उनी माथि एडम लल्लाना हाम फाल्न पुगे। केनको उक्त कदमले पनि त्यसबेला राम्रै आलोचना पाएको थियो।
लुइस सुआरेज
एट्लेटिको म्याड्रिडका स्ट्राइकर सुआरेज पनि लड्न खप्पिस छन्। आफ्नो लामो फुटबल करियरमा उनके कयौं पटक लडेको नाटक गरेर आफ्नो टीमलाई पेनाल्टी र फ्री-किक दिलाइसकेका छन्। प्रिमियर लिगमा हुँदा सुआरेज कयौं पटक डाइभिङका कारण आलोचित भए। लालिगामा पनि उनी माथि लडेको नाटक गरेको आरोप लाग्यो।
उल्लेखनीय के छ भने उनले स्टोक विरुद्धको खेल पछि डाइभिङ गरेको आफैं स्वीकार गरेका थिए। त्यस्तै सन् २०१७ मा च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन(पिएसजी) विरुद्ध पनि सुआरेज लडेर बार्सिलोनालाई पेनाल्टी दिलाउन सफल भएका थिए। पछिल्लो पटक सुआरेजले बार्सिलोना विरुद्धको खेलमा गोलरक्षकले छुनु भन्दा अगाडी लडेर नाटक गरेका थिए।
क्रिस्टियानो रोनाल्डो
म्यानचेस्टर युनाइटेडका स्टार स्ट्राइकर जति चर्चित छन्, त्यति नै विवादित पनि। यति लामो फुटबल करियरमा रोनाल्डो माथि कयौपटक डाइभिङको आरोप लागिसकेको छ।
सबै भन्दा धेरै पेनाल्टी पाउने खेलाडी समेत रहेका रोनाल्डो लालिगा र सिरी ‘ए’मा हुँदा डाइभिङका कारण धेरै पटक आलोचित भए। यसै सिजन रोनाल्डो माथि वेस्ट ह्याम विरुद्धको खेलमा तीन पटक लडेको नाटक गरेको आरोप लागेको थियो।
नेयमार
रोनाल्डो जस्तै नेयमार पनि लडेको नाटक गरेकाका कारण अत्याधिक आलोचित हुने गर्छन्। भन्ने हो भने डाइभिङको मामलामा नेयमार रोनाल्डो भन्दा पनि अगाडी छन्।
डाइभिङको मामलामा नेयमार यति आलोचित छन् कि न्यूयोर्क टाइम्सले त्यस बारेमा एक पूर्ण लेख नै तयार पारेको थियो। नेयमार ड्रिब्लिङको मामलामा जति राम्रो खेलाडी छन्, लडेको नाटक गर्न पनि उनी उत्तिकै अगाडी छन्।

