एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यान बर्खास्त भएका छन्। बार्सिलोनालाई सहि बाटोमा लैजान नसकेपछि कोम्यान बर्खास्त भएका हुन्।
गएको देखि महिना देखिन कोम्यान बर्खास्त हुने चर्चा चलिरहेको थियो। तर, केहि खेलमा जित निकालेपछि उनको जागिर बचेको थियो। तर बार्सिलोना रायो भालेकानोसँग १–० ले स्तब्ध बनेपछि कोम्यान माथि बार्सिलोनाले कारवाहीको डण्डा चलायो।
“एफसी बार्सिलोनाले रोनाल्ड कोम्यानलाई टोलीको पहिलो प्रशिक्षकको जिम्मेवारीबाट हटाएको छ। क्लबका अध्यक्ष जोन लापोर्टाले रायो भालेकानोसँगको हारपछि उनलाई यो निर्णयको जानकारी दिएका हुन् । रोनाल्ड कोम्यानले बिहीबार बार्सिलोनाको टोलीसँग बिदा माग्नेछन्।”,कोम्यानलै बर्खास्त गरिएको सूचना जारी गर्दै बार्सिलोनाले भनेको छ। साथै बार्सिलोनाले सेवाको लागि कोम्यानलाई धन्यवाद दिंदै उनको व्यावसायिक करियर राम्रो रहोस् भन्ने कामना पनि गरेको छ।
रायो भालेकानोसंग बार्सिलोना पहिलो हाफमै १ गोलले पछि परेको थियो। खेलको ३० औं मिनेटमा राडामेल फल्काओले गरेको गोल नै निर्णायक बन्न पुग्यो। बलमा राम्रो पकड बनाएपनि बार्सिलोनाले भालेकानोको डिफेन्स तोड्न सकेन।
बार्सिलोना अहिले धेरै नै खराब अवस्थाबाट गुज्रिरहेको छ। लालिगाको नयाँ सिजनमा १० खेल खेल्दा बार्सिलोनाले मात्रै ४ खेलमा जित निकालेको छ। उसले ३ खेलमा हार्दा, ३ खेलमा बराबरी खेलेको छ। बार्सिलोना १५ अंक सहित लालिगाको नवौं स्थानमा छ ।

