काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्धको केही न्यायाधीशले र वरीष्ठ अधिवक्ताहरूको मोर्चाबन्दी अन्तत ः ढिसमिस हुने देखिएको छ । सरकारको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी नेकपा(एमाले)ले साथ नदिने भएपछि यो मोर्चाबन्दी पानीको फोका सरह हुने भएको हो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
जवराले शुक्रवारदेखि सर्वोच्च अदालतका अधिकांश इजलासहरू सुचारु हुने संकेत गरेका छन् । कांग्रेस र एमालेनिकट संगठनका करिब एक दर्जन कानून व्यवसायीहरूसँगको भेटमा प्रधानन्यायाधीशले ‘शुक्रबारदेखि प्रायः इजलास चल्ने’बताएका हुन् ।
पूर्वन्यायाधीश भैरव लम्सालको निधनमा शोक प्रस्ताव पारित गर्न विहीबार करिब एक घण्टा फुल कोर्टको बैठक बसेको थियो । सो छलफल चलिरहँदा डीएलए र पीपीएलए सम्बद्ध वकिलहरू प्रधानन्यायाधीशको च्याम्बरबाहिर पर्खेर बसेका थिए । कार्की र शर्मा निस्केपछि करिब एक दर्जन वकिलले प्रधानन्यायाधीशसँग पछिल्लो अवस्थाको बारे छलफल गरेका थिए ।
सो अवसरमा प्रधानन्यायाधीशले आफूमाथि नियोजितरूपमा घेराबन्दी भएको भन्दै सडकबाट राजीनामा माग्दैमा नदिने बताएका थिए । उनले केही वरिष्ठतम न्यायाधीशले कर्मचारी सरुवादेखि न्यायाधीश सरुवामा समेत भागबण्डा खोजेको र त्यो नपाउँदा आफूविरुद्ध बाहिरी जमात सक्रिय गराएको बताए ।
सो अवसरमा वकिलहरूले इजलास बहिष्कारको अवस्थाबारे सोधेपछि राणाले भने– बिहीबारैैबाट बस्ने थियो तर शोक प्रस्ताव पारित गरेपछि भएन । भोलिबाट एकाधबाहेक अरु बेन्च बस्छ होला । राणाको संकेत हड्तालमा उत्रिएका केही वरिष्ठतम न्यायाधीश र उनीहरू निकटबाहेक अरु इजलासमा फर्किने रहेको भेटमा सहभागी एक कानून व्यवसायीले बताए ।