एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी)का ब्राजिलियन फरवार्ड नेयमारले आफू फुटबललाई लिएर गम्भीर रहेको बताएका छन्। एक युट्युब च्यानललाई अन्तर्वार्ता दिनेक्रममा नेयमारले फुटबललाई लिएर आफू जहिले पनि गम्भीर रहने गरेको बताएका हुन्।
नेयमार माथि फुटबलको विषयमा कम जिम्मेवार भएको आरोप लाग्ने गरेको छ। धेरैले उनलाई फुटबल भन्दा बढी पार्टी र रमाइलो गर्ने खेलाडीको रुपमा लिन्छन्। यी र यस्ता विभिन्न प्रकारका टिका-टिप्पणी बारे बोल्दै नेयमारले आफ्ना लागि फुटबल भन्दा माथि केहि पनि नहुने बताए।
नेयमारका अनुसार उनी फुटबललाई धेरै नै गम्भीरताका साथ लिन्छन् र खालि समयमा मात्र रमाइलो गर्न तिर लाग्छन्। फुटबललाई लिएर गम्भीर नभएको भए आफू अहिलेको स्थानमा पुग्ने नसक्ने नेयमारको भनाई छ।
“म फुटबललाई लिएर गम्भीर थिइन भने म यो स्तरमा पुग्नै सक्दैनथें।”,नेयमारले भने,”म सम्भव भएको अवस्थामा मात्रै बाहिर जान्छु। जब म खालि हुन्छु अथवा छुट्टिको समय हुन्छ, तब मात्र म रमाइलोमा हुन्छु।”
त्यस्तै नेयमार आफ्नो निजी जीवनलाई लिएर टिका टिप्पणी गरिन नहुने पनि बताउँछन्। खेलाडीहरु निजी रुपमा के गर्छन्, के गर्दैनन् भन्नेमा चासो राख्ने भन्दा पनि मैदानमा के कसो गरिरहेका छन् भन्ने कुरालाई ध्यान दिइनुपर्ने नेयमारको भनाई छ।
उनले भने,”मलाई पिचमा ‘जज’ गरिनुपर्छ, न कि मेरो निजी जीवनलाई। निजी जीवनमा के गर्छु, के गर्दिन भन्दा पनि पिचमा एक खेलाडीको रुपमा मैले के गर्छु भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ।”
नेयमारले फुटबल आफ्ना लागि सबै थोक रहेको बताए। आफूलाई फुटबलकै कारण सबैले चिनुन् र लामो समय याद गरुन् भन्ने आफ्नो चाहना रहेको नेयमारको भनाई छ।
“मलाई फुटबल मन पर्छ। खेल्नु मेरो जीवनको मनपर्ने कुरा हो। म अहिलेसम्म अस्तित्वमा रहेको सबैभन्दा प्रामाणिक र सत्य खेलाडीको रूपमा सम्झिन लायक बन्न चाहन्छु। म वास्तविक हुँ। म केही लुकाउँदिन।”,नेयमारले भने।