काठमाडौं – राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकका रुपमा थप ३ वर्षको सम्झौता गरेका कुवेती अब्दुल्ला अलमुताइरी शनिबार काठमाडौं आइपुगेका छन् ।
माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाली टोलीलाई फाइनल सम्मको यात्रा तय गराएका अलमुताइरी त्यहिबाट कतार गएका थिए । त्यसबीचमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङसँगको छलफल पछि अलमुताइरीले नेपाली टोलीको मुख्य प्रशिक्षकका रुपमा अझै तीन वर्ष रहने सहमति रहेको बताएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्फाका सदस्य समेत रहेका नेपाली टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय र रुपेश अधिकारीले स्वागत गरेका थिए ।
उनको पछिल्लो सम्झौता भने सन् २०२२ को सेप्टेम्बर सम्म रहेको थियो । नयाँ सम्झौता अनुसार उनी २०२४ सम्म नेपाली टोलीको प्रशिक्षक रहनेछन् । २८ वर्षको साफ च्याम्पियनसिपको इतिहासमा नेपाललाई फाइनल पुर्याउने उनी पहिलो प्रशिक्षक बनेका छन् । असोज ३० गते भएको फाइनलमा नेपाली टोली भारतसँग ३–० ले पराजित भएको थियो ।
अलमुताइरीको नेतृत्वमा नेपाली टोलीले पछिल्लो ७ महिनामा ११ खेल खेलेको छ । जसमा टोलीले ३ खेल जितेका छन् भने २ खेलमा बराबरी र ६ खेलमा हार बेहोरेको थियो । विश्व कप र एसिया कपमा अन्तिम ३ मध्ये चाइनिज ताइपेलाई जितेको नेपाली टोलीले अष्ट्रेलिया र जोर्डनसँगको खेल समान ३–० ले गुमाएको थियो । त्यसअघि टोलीले उनको नेतृत्वमा पहिलो खेल इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । त्यो खेल नेपालले ६–२ ले गुमाएको थियो ।
त्यसपछि भदौमा नेपाल र भारतले २ मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा पहिलो खेल १–१ को बराबरी र दोस्रो खेलमा भारत २–१ ले विजयी भएको थियो । साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्स १–०, श्रीलंकालाई ३–२ ले हरायो भने बंगलादेशसँग १–१ को बराबरी खेल्यो । राउन्ड रोविनमा भारतसँगको खेल पनि नेपालले १–० ले गुमाएको थियो ।

