एजेन्सी – म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी तथा फुटबल पण्डित ग्यारी नेभेल युनाइटेडलाई प्रिमियर लिगमा लिभरपुलसँगको हारले धेरै पाठ सिकाएको बताएका छन्। युनाइटेडले प्रिमियर लिगमा टोटेनहमलाई हराएपछि स्काई स्पोर्ट्ससँग कुराकानी गर्नेक्रममा ग्यारीले लिभरपुलसँग नमज्जाले हारेपछि मात्रै युनाइटेडले पाठ सिकेको बताएका हुन्।
लिभरपुलसँग लज्जास्पद हार बेहोरेपछि युनाइटेडमा विभिन्न रणनीतिक परिवर्तनहरु भएको ग्यारीले बताए। लिभरपुलले हराएपछि मात्रै युनाइटेडको चेत खुलेको उनको भनाई छ।
शनिबार राति भएको खेलमा युनाइटेडले टोटेनहमलाई ३-०को गोल अन्तरले पराजित गरेको थियो। युनाइटेडको जितमा क्रिस्टियानो रोनाल्डो, इन्डिसन काभानी र मार्कोस रासफोर्डले गोल गरेका थिए।
टोटेनहम विरुद्धको खेलमा युनाइटेडले विभिन्न रणनीतिक परिवर्तनहरु गरेको थियो। युनाइटेडले डिफेन्समा ५ खेलाडी राखेको थियो भने मिडफिल्डमा ३ खेलाडी उतारेर आक्रमणमा दुई खेलाडीलाई उतारेको थियो। पछिल्ला खेलहरुमा ४-२-३-१ को रणनीतिमा खेलिरहेको युनाइटेडलाई प्रशिक्षक ओले गुन्नार सोल्सजारले ५-३-२ को रणनीति सहित उतारेका थिए। शनिबार उनको रणनीति धेरै हद सम्म सफल पनि भयो।
युनाइटेडमा भएको उक्त परिवर्तनको प्रशंसा गरेपनि ग्यारीले परिवर्तन ढिला आएको बताए। ६-७ खेल खराब खेलिसकेपछि मात्रै रणनीतिमा परिवर्तन गरिएको उनले बताए।
“मलाई थाहा छैन, रणनीति बदल्न उनीहरुले किन यत्रो समय लगाए। लिभरपुलसँग नमिठो हार बेहोरेपछि मात्रै उनीहरुले पाठ सिके। ६-७ खेल खराब खेल्दा सम्म के हेरेर बसेका थिए ?”,ग्यारीले भने।
युनाइटेडमा पहिला नै रणनीतिक परिवर्तनहरु गरिएको भए लिभरपुलसँग खेल्दा नाजुक अवस्था नहुने ग्यारीको भनाई छ। त्यस्तै उनले रोनाल्डो र काभानीले थप स्वतन्त्रताका साथ खेल्न पाएको र त्यसले युनाइटेडलाई फाइदा गराएको पनि बताए।