एजेन्सी – यसै सिजन क्याटलान क्लब बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेका लियोनेल मेस्सीले कुनै न कुनै समयमा आफू बार्सिलोना फर्किने बताएका छन्। हालसालै एक मिडियालाई अन्तर्वार्ता दिनेक्रमा मेस्सीले पछि उपयुक्त समयमा आफू बार्सिलोना फर्किने बताएका हुन्।
स्पेनिस मिडिया ‘सपोर्ट’सँग कुराकानी गर्दै मेस्सीले बार्सिलोनालाई आफूले जहिले पनि माया गरेको र त्यो माया समयसँगै बढ्दै जाने बताए। क्लबलाई भविष्यमा सहयोग पुर्याउने आफ्नो योजना रहेको मेस्सीको भनाई छ।
बार्सिलोना फर्कने योजना भन्दै सोधिएको प्रश्नको जवाफ दिँदै मेस्सीले भने,”पक्कै पनि छ, मैले जहिले पनि भनेको छु कि म क्लबलाई मद्दत गर्न चाहन्छु र मलाई त्यो मन पनि पर्नेछ।”
मेस्सीले प्राविधिक सेक्रेटरीको रुपमा बार्सिलोना फर्किने आफ्नो चाहना रहेको पनि बताए। सम्भव भएको अवस्थामा बार्सिलोनालाई सहयोग पुर्याउन आफू तयार हुने मेस्सीको भनाई छ।
“म कुनै समयमा प्राविधिक सेक्रेटरी बन्न चाहन्छु। तर प्राविधिक सेक्रेटरी कि बार्सिलोनामा हुन्छु कि अन्य क्लबमा। बार्सिलोनामा हुने पाए झनै राम्रो।”,मेस्सीले भने। सम्भव भएसम्म बार्सिलोनालाई सहयोग पुर्याउने पक्षमा आफू सधैं हुने मेस्सीले बताए। बार्सिलोना सधैं विश्वको उत्कृष्ट क्लब रहोस् भन्ने उनको च चाहना छ।
उनले भने,”यदि त्यहाँ सम्भावना छ भने, म आफूले गर्न सक्ने योगदान गर्न तयार छु। किनभने यो मैले माया गर्ने क्लब हो र म यसलाई निरन्तरता दिन चाहन्छु। बार्सिलोना सधैं अगाडी बढोस् र विश्वको उत्कृष्ट क्लब रहिरहोस् भन्ने मेरो कामना छ।”

