एजेन्सी – यसै सिजन बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेका लियोनेल मेस्सीले बार्सिलोनामा रहन आफूले सक्दो प्रयास गरेको बताएका छन्। स्पेनिस मिडिया ‘सपोर्ट’सँग कुराकानी गर्नेक्रममा मेस्सीले बार्सिलोनामै रहन आफूले सदको प्रयास गरेको बताएका हुन्।
उनको मात्र नभई उनको परिवारको पनि बार्सिलोनामै रहने योजना रहेको थियो। त्यसका लागि आफू हदै सम्म लचिलो भएपनि बार्सिलोनामा रहन सम्भव हुन नसकेको मेस्सीले बताए। मेस्सीका अनुसार उनी बार्सिलोनामा रहन आधा भन्दा बढी पारिश्रमिक घटाउन पनि तयार थिए।
केहि समय अगाडी बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले मेस्सीले निशुल्क खेल्छन् भन्ने आशा राखेको बताएका थिए। मेस्सीले त्यस बारेपनि टिप्पणी गरेका छन्। बार्सिलोना पक्षबाट आफूलाई निशुल्क खेल्ने प्रस्ताव नआएको मेस्सीले स्पष्ट पारे।
लापोर्टाले के भनेका थिए ?
केहि समय अगाडी मात्रै लापोर्टाले एक मिडियालाई अन्तर्वार्ता दिएका थिए। त्यसक्रममा उनले मेस्सीलाई बार्सिलोनामा राख्न नसकिएको बारे स्पष्ट पर्न खोजेका थिए। त्यतिबेला उनले बार्सिलोनामा नयाँ सम्झौता गर्न नमिलेपछि मेस्सी सित्तैमा खेल्न समेत तयार हुन्छन् होला भनेर आफूले आशा गरेको खुलासा गरेका थिए।
“मलाई आशा थियो कि अन्तिम मिनेटमा मेस्सीले नि: शुल्क खेल्ने निर्णय गर्नेछन्। त्यस सम्बन्धमा मसँग कुरा गर्छन् होला भनेर मैले सोचेको थिएँ।”,लापोर्टाले केहि समय अगाडी भनेका थिए।
यसमा के भने मेस्सीले ?
मेस्सील बार्सिलोनामा रहने कुरा नै आफ्नो मुख्य प्राथमिकता रहेको बताए। बार्सिलोनामा रहन आफूले सक्ने सबै गरेको मेस्सीको भनाई छ। उनले भने,”मैले बार्सिलोनामा रहन सकेको सबै गरें। तर मलाई कुनै पनि विन्दुमा निशुल्क खेल्न भनिएको थिएन। मलाई मेरो तलब ५० प्रतिशत घटाउन भनियो र म कुनै समस्या बिना त्यसमा सहमत भएँ। हामी क्लबलाई मद्दत गर्न इच्छुक थियौं।”
लापोर्टाको उक्त भनाईलाई मेस्सीले अनुपयुक्त भने। लापोर्टाको भनाईले आफूलाई दुखि बनाएको मेस्सी बताउँछन्। लापोर्टाले त्यसो नभनेको भए राम्रो हुने मेस्सीले बताए।
“कसैले मलाई सित्तैमा खेल्न भनेन। तर मलाई अध्यक्षले जे भने त्यो अनुपयुक्त थियो भन्ने लाग्छ। उनले त्यसो भन्दा मलाई दुख लग्यो। यसले अनुमानहरू सिर्जना गर्दछ वा मानिसहरूलाई त्यस्तो चीजहरू सोच्न लगाउँदछ जुन मलाई लाग्दैन कि म योग्य छु।”,मेस्सीले भने।