एजेन्सी – पेरिस सेन्ट जर्मन(पिएसजी)का स्टार स्ट्राइकर लियोनेल मेस्सीले पिएसजी मात्रै च्याम्पियन्स लिगको दाबेदार नभएको बताएका छन्। हालसालै एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा मेस्सीले पिएसजी च्याम्पियन लिगको एकमात्र दाबेदार नरहेको बताएका हुन्।
एक टेलिभिजनलाई अन्तर्वार्ता दिनेक्रममा मेस्सीले पिएसजीका अलवा अन्य क्लब पनि च्याम्पियन्स लिगको दाबेदारको रुपमा रहेका छन्। पिएसजी च्याम्पियन्स लिगको प्रमुख दाबेदार भएपनि च्याम्पियन्स लिग जित्ने दौडमा अन्य क्लब पनि रहेको मेस्सीको भनाई छ।
“मलाई लाग्छ कि यो मेरो सबैभन्दा ठूलो लक्ष्य हो, क्लबको पनि मुख्य लक्ष्य हो।”,मेस्सीले भने,”पिएसजी च्याम्पियन्स लिग जित्न खोजिरहेको छ र धेरै नजिक पुगेको पनि थियो। मलाई लाग्छ पिएसजीको मुख्य लक्ष्य नै च्याम्पियन्स लिग हो। “
आफूहरु च्याम्पियन्स लिगको मुख्य दाबेदार भएपनि एकमात्र दाबेदार भने नरहेको मेस्सीले बताए। अन्तर्वार्ता दिनेक्रममा मेस्सीले च्याम्पियन्स लिगका प्रमुख दाबेदार क्लबहरुको नाम पनि उल्लेख गरे। उनका अनुसार पिएसजीका अलावा म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, बायर्न म्युनिख, लिभरपुल, चेल्सी र एट्लेटिको म्याड्रिड पनि च्याम्पियन्स लिग जित्ने दौडमा छन्।
“हामी मुख्य दाबेदार मध्ये एक हौँ। तर हामी एक्ला दाबेदार भने होइनौं। पिएसजीमा रहेका खेलाडीहरुका लागि सबै जना पिएसजीले जित्ने सम्भावना उच्च रहेको बताइरहेका छन्। तर वास्तविकता त्यस्तो होइन।”,मेस्सीले भने,”यहाँ अन्य धेरै क्लब छन्, जो च्याम्पियन्स लिग जित्नको लागि प्रयास गरिरहेका छन्।”