युनाइटेड आएपछि ओरालो बाटोमा सान्चो, इंग्ल्यान्ड टोलीमै परेनन् !

एजेन्सी – बोरुसिया डर्टमुन्ड छाडेर यसै सिजन म्यानचेस्टर युनाइटेड आएका विंगर जेडन सान्चो इंग्ल्यान्डको टोलीमा पर्न असफल भएका छन् ।

फिफा विश्वकप २०२२ कतार छनोटको अन्तिम चरणका खेलका लागि घोषित टोलीमा सान्चो टोलीमा परेका छैनन् । प्रशिक्षक ग्यारेथ साउथगेटले उनको स्थानमा मार्क्स रासफर्डलाई टोलीमा समेटेका छन् । युनाइटेडमा सान्चो खेल समय नपाएर नै साउथगेटले उनलाई टोलीमा नसमेटेका हुन् ।

गत साता मात्र सान्चो पनि डोनी भा डी बिक जस्तै म्यानचेस्टर युनाइटेडको प्रणालीमा फिट हुने सम्भावना कम रहेको टोलीका पूर्व कप्तान गेरी नेभिलले शंका गरेका थिए । सान्चोलाई अनुबन्ध गर्न युनाइटेडले बोरुसिया डर्टमन्डलाई १ सय मिलियन युरो तिरेको थियो ।

युनाइटेडले आइतबार टोटेनहमलाई ३–० ले हराउँदा सान्चोले परिवर्तित खेलाडीका रुपमा समेत मौका पाएनन् । लगातार दुई खेलमा उनले मौका पाएका छैनन् । गत साता लिभरपुलसँग ५–० ले पराजित भएपछि प्रशिक्षक ओले गुनास सोल्साएरले टोटेहमविरुद्ध ३–५–२ को राणनीतिमा टोलीलाई उतारेका थिए ।

क्रिस्टियानो रोनाल्डो र इडिन्सन काभानी दुवैले गोल गरेको खेलमा परिवर्तित खेलाडीका रुपमा गएका मार्कुस रासफोर्डले पनि गोल गरेका थिए । सान्चोको भूमिका बारे नेभिलले चासो व्यक्त गरेका छन् । ठूलो रकममा डर्टमन्डबाट सान्चोलाई ल्याएपछि भान डी बिक अवस्था हुने सम्भावना नेभिल देख्छन् । सन् २०२० मा आयक्सबाट युनाइटेड पुगेका भा डी बिकलाई सोल्साएरले आफ्नो योजनामा छैनन् । सान्चोमा पनि खेल्नका लागि कम मात्र अवसर प्राप्त भएकोले त्यसले उनमा निराशा बढ्दै जाने सम्भावना देख्छन् ।

‘भान डी बिकको बारेमा क्लबले अहिले सोच्न सकिरहेको छैन । कसले उनको नाम सिफारिस गर्यो । युनाइटेडमा ल्याउन कसले प्रायोजन गरेको छ,’ नेभिलले भने,‘ सानो उमेरको खेलाडीलाई ४० मिलियन पाउन्ड खर्च गरिएको छ । स्ट्यान्डमा बसेका छन् । झण्डै १८ महिना देखि उनले राम्रोसँग खेल्न पाएका छैनन् ।’

त्यस्तै निरन्तरता हुने हो भने सान्चोको पनि अवस्था त्यस्तै हुने नेभिल बताउँछन् । ‘अधिकांश समय उनी बेन्चमा परिरहेका ले साच्दै होलान् म यहाँ किन छु,’ नेभिलले भने,‘ म यो प्रणालीमा कहाँ छु भन्ने ठानेका होलान् । किनकी ३ जना मिडफिल्ड हुँदा पनि उनको सम्भावना छैन । त्यस्तै २ जना फरवार्डमा पनि उनी हुँदैनन् । त्यसअर्थ उनले आफैलाई प्रश्न गरिरहेका हुनसक्छन् ।’

सान्चोले युनाइटेडबाट सबै खेलमा गरि ११ खेल खेलेका छन् । जसमध्ये ६ खेलमा मात्र उनले सुरुवातको अवसर पाएका छन् ।

प्रकाशित : शनिबार, कार्तिक २०, २०७८०९:०६

ग्वार्डियोला भन्छन् – ‘रोनाल्डो ७५ वर्षमा पनि गोल गर्न सक्छन्, कम्जोर सोचेर गल्ति गर्दिन’