एजेन्सी – बार्सिलोनाका पूर्व मिडफिल्डर एन्ड्रेस इनिएस्टाले क्याटलान क्लब बार्सिलोनाका नवनियुक्त प्रशिक्षक जाभीको सफलताको कामना गरेका छन्। बिहिबार मात्रै बार्सिलोनाको प्रशिक्षकमा नियुक्त भएका पूर्वसहकर्मी जाभीलाई इनिएस्टाले शुभकामना दिएका हुन्।
एक मिडियासंग कुराकानी गर्नेक्रममा इनिएस्टाले जाभी एक सफल प्रशिक्षक हुने र बार्सिलोनालाई अगाडी बढाउने बताए। इनिएस्टाका अनुसार उनी जाभीले आफ्नो जिम्मेवारी सफलता पूर्वक निभाउनेछन्। जाभी बार्सिलोनाको जिम्मेवारी सम्हाल्न पूर्ण रुपमा तयार रहेको इनिएस्टाको भनाई छ।
“उनी तयार छन्। उनले जसरी तयारी गरिरहेका थिए, त्यसले उनलाई एक अब्बल प्रशिक्षकको रुपमा उभ्याउनेमा म ढुक्क छु। निसन्देह, बार्सिलोनाका लागि उनी उपयुक्त छन्।”,एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा इनिएस्टाले भने।
बार्सिलोनाको एकेडेमी ला मासिया र क्लबको बारेमा जानकारी भएको भरमा मात्र जाभी बार्सिलोनाको जिम्मेवारी सम्हाल्न तयार भएको नभई जाभी पूर्णरुपमै तयार भएको इनिएस्टाले बताए।
इनिएस्टाले भने,”उनी ला मासिया वा क्लबको बारेमा थाहा छ भनेर मात्र होइन, सबै पक्षबाट उनी बार्सिलोनाको प्रशिक्षक बन्नको लागि तयार छन्। उनी यो चुनौती सामना गर्न तयार छन्।”
जाभीको नयाँ चुनौतीलाई लिएर आफू पनि उत्साहित रहेको इनिएस्टाले बताए। उनले परिस्थितिहरू जाभीको योजना अनुरुप सहज बन्दै जाओस् भन्ने कामना पनि गरे।
“म उनलाई शुभकामना दिन्छु। उनलाई भाग्यले पूरा साथ दियोस् भन्ने मेरो कामना छ। जाभीले स्वीकारेको नयाँ चुनौतीलाई लिएर म धेरै उत्साहित छु।”,इनिएस्टाले भने,”मलाई आशा छ कि परिस्थितिहरू उनका लागि अनुकुल हुनेछ।”

