एजेन्सी – गएको केहि वर्ष देखि लगातार चर्चामा रहेका बोरुसिया डर्टमुन्डका नर्वेली युवा स्टार एर्लिङ हालाण्डको ट्रान्सफरमा सबैको चासो छ। युरोपका धेरै जस्तो क्लबले उनलाई प्राथमिकतामा राखेको कारण ट्रान्सफर होड धेरै नै रोमान्चक हुने देखिन्छ। यो कुरा अहिले नै स्पष्टसँग भन्न सकिन्छ कि हालाण्डका लागि ठूला भन्दा ठूला क्लब भिड्नेछन्।
अझ रोमान्चक कुरा के छ भने आउने समर ट्रान्सफर लाग्नेबितिकै हालाण्डको रिलिज कल्ज सक्रिय हुनेछ। प्रकाशमा आएअनुसार हालाण्डको रिलिज कल्ज ७५ मिलियन युरो आसपास रहेको छ। हालाण्ड जस्तो खेलाडीका लागि ७५ मिलियन तिर्नु त जुनै पनि क्लब तयार होलान्। तर हालाण्डले डिमाण्ड गरिरहेको तलबले भने सबै क्लबलाई तनावमा पार्नेछ।
हालाण्डका एजेन्ट मिनो राइओला अहिले देखि नै हालाण्डको ट्रान्सफरको गृहकार्यमा जुटिसकेको खबर आएका छन्। बाहिरिएको खबरअनुसार हालाण्डलाई उच्च पारिश्रमिक दिलाउने गरी उनी नयाँ क्लबको खोजिमा जुटेका छन्। उनी हालाण्डलाई सक्दो धेरै पारिश्रमिक दिलाउने गरी विभिन्न क्लबहरुसँग संवाद अगाडी बढाइरहेका छन्।
पछिल्लो एक खबरका अनुसार हालाण्डले कम्तिमा ३५ मिलियन युरो पारिश्रमिक चाहिरहेका छन्। हालाण्डलाई अनुबन्ध गर्न चाहने कुनै पनि क्लब ३५ मिलियन युरो पारिश्रमिक तिर्न तयार हुनुपर्ने अवस्था रहेको इएसपिएनले जनाएको छ।
विभिन्न श्रोतहरुबाट प्राप्त जानकारी अनुसार हालाण्ड माथि म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, चेल्सी र रियल म्याड्रिडको नजर रहेको इएसपिएनले समाचारमा उल्लेख गरेको छ।