रोनाल्डो र सलाह दुवैसँग खेलिरहेका जोटा भन्छन् – “सलाह रोनाल्डोकै स्तरमा पुग्दैछन्”

एजेन्सी – पोर्चुगल तथा लिभरपुलका फरवार्डको डियोगो जोटाले लिभरपुलमा मुख्य स्ट्राइकर मोहम्मद सलाह क्रिस्टियानो रोनाल्डोकै स्तरमा पुग्ने क्रममा रहेको बताएका छन्। सलाह र रोनाल्डोमा को उत्कृष्ट भनेर बहस शुरु भएको अवस्थामा जोटाले स्काई स्पोर्ट्ससंग कुराकानी गर्दै सलाह रोनाल्डोकै स्तरको खेलाडी रहेको बताएका हुन्।

पोर्चुगलबाट रोनाल्डोसँग खेल्ने गरेका जोटाले रोनाल्डो लामो समय देखि उत्कृष्ट फुटबल खेलिरहेको र सलाह पनि अहिले सोहि स्तरको खेल प्रदर्शन गरिरहेका बताए। रोनाल्डो र सलाह दुवै मैदानमा घातक रहेको जोटाको भनाई छ।

“मलाई लाग्छ कि म उनलाई (सालाह) लाई रोनाल्डोकै स्तरमा देख्छु। हुन त रोनाल्डो लामो समय देखि उत्कृष्ट फुटबल खेलिरहेका छन्। तर सलाह पनि अहिले त्यस्तै स्तरमा छन्।”,जोटाले भने।

रोनाल्डो र सलाह मैदानमा जुन सुकै अवस्थामा गोल गर्न सक्ने खेलाडी रहेको जोटा बताउँछन्। दुवै खेलाडीबाट सिक्ने मौका पाइरहेको र त्यसले आफ्नो विकासमा धेरै मद्दत गरिरहेको उनले बताए।

जोटाले भने,”मैदानमा दुवै खतरनाक छन्, जुन सुकै समयमा गोल गर्न सक्छन्। दुवैसँग खेल्न पाउँदा मैले धेरै कुरा सिक्न पाइरहेको छु। दुवैलाई खेलेको देख्दा मैले धेरै सिक्न पाएको छु।

जोटाले सलाहलाई विश्व स्तरीय महान खेलाडीको संज्ञा पनि दिए। जारी सिजनमा सलाहले आफ्नो कला देखाइरहेको र त्यसले सबैलाई चकित बनाइरहेको जोटाले बताए। उनले भने,”उनी रमाइलोको लागि गोल गर्छन्। निर्णायक भूमिका खेल्न सक्ने खेलाडी टीममा हुनु हाम्रा लागि राम्रो कुरा हो।”

प्रकाशित : मङ्गलबार, कार्तिक २३, २०७८०८:४५

के मेस्सीले पिएसजीलाई नटेरी खेल्लान् ?