एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आर्थिक समस्याबाट गुज्रिरहेको कारण सिजनको सुरुवातमा सुपरस्टार फरवार्ड लिओनेल मेस्सीको साथ गुमायो । तर पछिल्ला केहि वर्षयता क्लबले प्रशिक्षक बर्खास्त गरेको कारण पनि आर्थिक भार खेप्नुपरेको छ ।
आधुनिक इतिहास पल्टाउने हो भने बार्सिलोनाले आफ्नो प्रशिक्षकसँग सम्झौताको अवधि पूरा गरेर सम्बन्ध टुंग्याएको देखिन्छ । तर पछिल्ला केहि वर्षमा भने त्यसको ठिक विपरित हुँदै आएको छ । एक त प्रशिक्षकलाई बर्खास्त गर्दा सम्बन्ध बिग्रन्छ । अर्कोतर्फ क्लबले सम्झौता अवधिभरको रकम क्षतिपूर्ति स्वरुप तिर्नुपर्ने प्रावधान छ ।
सन् २००३ मा बार्सिलोना आएका प्रशिक्षक फ्रान्क राइकार्डले सन् २००८ सम्म जिम्मेवारी सम्हाले । त्यसपछि पेप गुआर्डीओलाले सन् २०१२ सम्म लगातार उपाधि जिते । त्यसपछि आएका टिटो भिलानोभा स्वास्थ्य समस्याका कारण जिम्मेवारीमा लामो समय रहन सकेनन् । जेरार्डो मार्टिनोले पनि सम्झौताको एक वर्ष पूरा गरे । लुइस एन्रिकेले पनि आफ्नो तीन वर्ष सम्झौता पूरा गरे ।
त्यसपछि सन् २०१७-१८ मा एर्नेस्टो भालभर्डेले पहिलो सिजनमा दोहोरो उपाधि दिलाएपनि सन् २०२० जनवरीमा बर्खास्त भए । उनले आफ्नो सम्झौताको अन्तिम वर्ष रहेकाले बार्सिलोनाबाट कुनै क्षतिपूर्ति लिएनन् । तर सम्झौता रद्द गरेको कारण उनले ११ मिलियन युरोको प्याकेज भने बुझे ।
त्यसपछि आएका किके सेतीएनले पनि बर्खास्त भएपछि ४ मिलियन युरो पाएका थिए । रोनाल्ड कोम्यानको अवस्थामा भने बार्सिलोनाले उनलाई १३ मिलियन युरो तिर्नुपर्नेछ । उनको तलब क्षतिपूर्तिमा ७.२ मिलियन युरो दिनुपर्नेछ । त्यस्तै उनले नेदरल्यान्ड्सको राष्ट्रिय टोली छोड्दा तिरेको ५.८ मिलियन युरो पनि कोम्यानले पाउनेछन् ।
अब बार्सिलोना सम्हाल आएका जाभीलाई अल सादबाट फुकुवा गर्न पनि क्लबले ५ मिलियन युरो खर्चनुपर्छ । हाललाई उक्त रकम जाभीले तिरेपनि क्लबले त्यो रकम उनलाई पछि तिर्नेछ । समग्रमा प्रशिक्षकको लागि मात्र बार्सिलोनाले ३३ मिलियन युरो खर्च गरेको छ ।