राकिटिकका अनुसार मेस्सी-रोनाल्डोले नभई बेन्जेमाले जित्नुपर्छ बालोन डी’ओर, गरे तारिफै-तारिफ !

एजेन्सी – सेभिल्लाका मिडफिल्डर इभान राकिटिकले सन् २०२१ को बालोन डी’ओर अवार्डका लागि रियल म्याड्रिडका दिग्गज फरवार्ड करिम बेन्जेमालाई रोजेका छन्।

यस वर्षको बालोन डी’ओर अवार्ड विजेता घोषणा हुन केहि हप्ता मात्र बाँकी रहेको अवस्थामा एक मिडियासँग कुराकानी गर्दै राकिटिकले रियलका बेन्जेमालाई यो अवार्ड दिइनुपर्ने बताएका हुन्।

क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छाडेपछि बेन्जेले राम्रोसँग जिम्मेवारी सम्हालेको राकिटिकले बताए। उनले बेन्जेमालाई रियलको सच्चा लिडरको संज्ञा दिए।

“क्रिस्टियानोको बहिर्गमन पछि बेन्जेमा रियलको लिडरको रुपमा अगाडी आए। सामान्य रुपमा भन्नुपर्दा उनी अद्वितीय छन्। त्यसको लागि म उनलाई बधाई दिन्छु। उनी यसरी नै अगाडी बढुन् भन्ने मेरो कामना छ।”,राकिटिकले भने।

बेन्जेमाको स्तरकै कारण रियल म्याड्रिड अहिलेको अवस्थामा रहेको राकिटिकले बताए। रियल म्याड्रिड बेन्जेमाकै कारण सबै प्रतियोगितामा एक अब्बल प्रतियोगी टीमको रुपमा रहन सकिरहेको राकिटिकको भनाई छ।

उनले भने,”बेन्जेमा बालोन डी’ओरको हकदार छन्। उनकै फर्मका कारण रियल अहिले सबै प्रतियोगितामा छ। उनी ठूला भन्दा ठूला खेलमा गोल गर्न सक्छन्। उनी सबै अवसरहरुमा उपस्थित हुन्छन्।” ​

त्यस्तै राकिटिकले बेन्जेमासँग जर्सी साटासाट गरेको पनि स्मरण गरे। राकिटिकले बेन्जेमाको जर्सी आफ्नो व्यक्तिगत संग्रहालयमा राखिरहेको बताए। उनले भने,”रियल म्याड्रिडमा लामो समय देखि रहेर बेन्जेमाले जे गरेका छन् त्यो साँचै तारिफयोग्य छ। म भन्न चाहन्छु कि उनीसँग जर्सी साटासाट गर्न पाउँदा धेरै खुसी छु। यो अहिले मेरो व्यक्तिगत संग्रहालयमा छ।”

प्रकाशित : मङ्गलबार, कार्तिक २३, २०७८१६:५७

आर्सनलका पूर्व खेलाडीले रोनाल्डो नहुँदै युनाइटेड राम्रो थियो भन्दै कुर्लिएपछि …