एजेन्सी – आर्सनलका पूर्व मिडफिल्डर पल मर्सनले क्रिस्टियानो रोनाल्डो बिना म्यानचेस्टर युनाइटेड धेरै राम्रो फुटबल टोली हुन सक्ने बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा मर्सनले रोनाल्डो नहुँदा नै युनाइटेडले राम्रो प्रदर्शन गर्न सक्ने बताएका हुन्।
मर्सनले रोनाल्डो बिना युनाइटेड राम्रो फुटबल टीम हुने र राम्रो प्रदर्शन गर्न सक्ने बताए। त्यसो भनिरहँदा उनले गएको सिजनमा युनाइटेडले गरेको प्रदर्शनलाई स्मरण गरे। गएको सिजन युनाइटेड कयौं खेल सम्म अपराजित यात्रालाई कायम राखेको थियो। रोनाल्डो आएपछि युनाइटेडको खेल शैलीमै परिवर्तन गर्न परेको मर्सनको भनाई छ।
“मलाई व्यक्तिगत रूपमा क्रिस्टियानो रोनाल्डो बिना म्यानचेस्टर युनाइटेड राम्रो फुटबल टोली हो जस्तो लाग्छ। उनीहरूले गत वर्ष केहि समय अपराजित यात्रालाई कायम समेत राखेका थिए।”,मर्सनले भने।
रोनाल्डो आएपछि युनाइटेडले काउन्टर अट्याक गर्न नसकिरहेको पनि मर्सनले बताए। उनका अनुसार रोनाल्डोको घट्दो पेसले युनाइटेडलाई काउन्टर अट्याक गर्नबाट रोकिरहेको छ। रोनाल्डोले बिस्तारै पेस गुमाउँदै गएको उनको बुझाई छ।
उनी भन्छन्,”गएको सिजन उनीहरुले काउन्टर-आक्रमण फुटबल खेलेका थिए, जुन धेरै हद सम्म सफल पनि भएको थियो। तर रोनाल्डो आएपछि भने त्यस्तो हुन सकिरहेको छैन। उनको पेस पनि पहिला जस्तो छैन। त्यसैले युनाइटेडलाई गार्हो परिरहेको छ।”
मर्सनले रोनाल्डो हुँदैमा युनाइटेड सफल हुन्छ भन्ने ग्यारेन्टी नभएको बताए। सिजनमा २० गोल गर्न सक्ने स्ट्राइकर भएर पनि केहि जित्न नसक्ने अवस्था देखिएको मर्सनको भनाई छ।
उनले भने,”यदि तपाइँ केहि पनि जित्न सक्नुभएन भने एक सिजन स्ट्राइकरले २० गोल गर्नुको अर्थ के? यो स्पर्सका ह्यारी केन जस्तै भैहाल्यो नि। धेरै गोल गर्न सक्ने स्ट्राइकर हुँदैमा शिर्ष चारमा पर्न त गार्हो छ उपाधिको कुरा त पर को कुरा हो।”